बिर्तामोड । तेस्रो संस्करणको मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन (बडीबिल्डिङ) प्रतियोगिताको आयोजकले विजेताको ट्रफी सार्वजनिक गरेको छ ।
आयोजक समितिका अध्यक्ष आदित्य पराजुली, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, सल्लाहकार टिकाराज ढकाल, प्रतियोगिता संयोजक राम दाहाल र दिपेन चौधरी, सचिव सन्तोष उप्रेतीलगायतले ट्रफी सार्वजनिक गरेका हुन् ।
आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी विजेताको ट्रफी सार्वजनिकसँगै प्रतियोगिताबारे जानकारी दिइएको हो । यसैबीच, प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता भदौ २७ र २८ गते बिर्तामोडमा हुँदैछ ।
प्रतियोगिताका संयोजक तथा राष्ट्रिय च्याम्पियन दाहालका अनुसार पहिलो र दोस्रो संस्करण प्रदेशस्तरीय भएको प्रतियोगिता यो संस्करणबाट राष्ट्रियस्तरको हुन लागेको हो । झापामा राष्ट्रियस्तरको शारीरिक सुगठन प्रतियोगिता पहिलोपटक हुन लागेको हो ।
पहिलो दिन प्रिजजिङ र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुने प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथिका तौल समूहका खेलाडीहरू सहभागी हुने शारीरिक सुगठन संघका कोशी अध्यक्ष तथा प्रतियोगिताका अध्यक्ष पराजुलीले बताए ।
बिर्तामोडको बडी ग्यारेजको आयोजनामा हुने प्रतियोगिताको विजेताले नगद पाँच लाख प्राप्त गर्नेछ । यसअघि प्रदेशस्तरीय हुँदा विजेताको पुरस्कार नगद ३ लाख ११ हजार १११ रुपैयाँ थियो ।
त्यस्तै, दोस्रो हुनेले नगद तीन लाख, तेस्रो हुनेले दुई लाख, चौथो हुनेले एक लाख रुपैयाँ पाउनेछ । पाँचौँ हुनेले नगद ७५ हजार र छैटौँ हुनेले नगद ५० हजार पाउने प्रतियोगिताका संयोजक चौधरीले बताए ।
हरेक तौल समूहका दोस्रो हुने खेलाडीले नगद सात हजार र तेस्रो हुने खेलाडीले नगद पाँच हजार पाउनेछन् । प्रतियोगितामा देशभरबाट दुई सयजना खेलाडीहरूले सहभागिता जनाउने संयोजक दाहालले बताए । प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
दोस्रो मिस्टर कञ्चनजंघा शरीरिक सुगठन प्रतियोगिताको उपाधि दिलिपकुमार चौधरीले जितेका थिए । डिएनपी फिटनेस गाईघाटका उनी ६५ केजी तौल समूहबाट सहभागी थिए ।
अघिल्लो संस्करणलाई कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको थियो । बडी ग्यारेजले संयोजन गरेको सो प्रतियोगितालाई बोर्डले १५ लाख रुपैयाँ सहयोग गरेको थियो ।