खुदुनाबारी । झापाको अर्जुनधारा नगरपालिकाले सोमबारदेखि नदीजन्य सामग्रीहरु संकलनका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आईई) प्रतिवेदन तयारीसम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम शुरु गरेको छ ।

 

पालिकाको क्षेत्र भएर बग्ने बिरिङ, टाङटिङ, ठूलो नेते, सुखानीलगायतका नदीहरुबाट नदीजन्य सामग्रीहरु संकलनका आईई प्रतिवेदन तयारी गर्न सम्बन्धित वडावासीहरुको सुझाव संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

 

अर्जुनधारा २ र ३ नम्बर वडाबासीहरुलाई लक्षित गरी २ नम्बर वडा कार्यालयको प्राङ्गणमा भएको कार्यक्रम वडाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठको अध्यक्षता र नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

 

परामर्शदाता बिर्तामोड नगरपालिका १० स्थित इको ग्रीन कन्सल्टेन्सी प्रालिका सहजकर्ता ज्ञानेन्द्र चौधरीले सहजिकरण गरेको उक्त कार्यक्रममा सहभागीहरुको तर्फबाट कमल बुढाथोकी, डिल्लीनारायण श्रेष्ठ, नरेन्द्रदेव इङनाम, भोलानाथ बराल, मुकुन्द भण्डारीलगायतले नदीजन्य सामग्री उत्खनन् प्रक्रिया र उत्खनन्बाट पर्नसक्ने असरसँगै प्रभावको विषयमा जिज्ञासा राखेका थिए ।

 

त्यसैगरी कार्यक्रममा नदीजन्य सामग्रीको उत्खनन् त्यस क्षेत्रमा परेको जोखिमसँगै उत्खनन् क्रममा मेसिनको प्रयोग नगर्न र नगराउन भन्दै सहभागी ३७ जनाको हस्ताक्षरसहितको निवेदन पत्र प्रस्तुत गरेका थिए ।

 

प्रमुख अतिथि तामाङले सहभागीहरुको जिज्ञासाको जवाफ दिएको सोही कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेका स्वकीय सचिव केशवराज ढुंगेलले चालु आर्थिक वर्ष २०८२÷०८३ मा अर्जुनधारा नगरपालिकाका विभिन्न क्षेत्रमा विनियोजन भएको योजनाहरुबारे जानकारी गराएका थिए ।

 

नगर उपप्रमुख खड्गमाया पराजुलीले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएको उक्त कार्यक्रमको सञ्चालन प्रशासन शाखाका अधिकृत सौजन कटुवालले गरेका थिए । सो सार्वजनिक सुनवाई कार्यक्रम अर्जुनधारा १ नम्बर वडावासीहरुलाई लक्षित गरी स्थानीय सयपत्री युवा क्लब र अर्जुनधारा ४, ५ र ७ नम्बर वडावासीहरुलाई लक्षित गरी ७ नम्बर वडा कार्यालयको सभाहलमा सञ्चालन गरिने बताइएको छ ।