झापा । गएराति कोशी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि भएको छ । झापाको केचनामा गत २४ घण्टामा १२४.८ मिलिमिटर वर्षा मापन भएको छ । दमकमा ९२.८ र दिङ्गलामा ९४.६ मिलिमिटर वर्षा मापन भएको छ ।

 

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहे पनि अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले नेपालमा पानी परिरहेको छ ।

 

गएराति कोशी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि भएको छ । पछिल्लो एक घण्टामा पनि बाँकेको नौबस्ता, उदयपुरको गाईघाट लगायतका स्थानमा पनि भारी वर्षा मापन भएको छ ।

 

बरिष्ठ मौसमविद शान्ति कँडेलले अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले पानी परेको बताइन् । उनको अनुसार यसको प्रभाव अबको दुई-तीन दिनसम्मै देखिने पूर्वानुमान पनि छ ।

 

उदयपुरको गाइघाटमा एक घण्टामा ५४.६ मिलिमिटर वर्षा भएको छ । एक घण्टामै ५० मिलिमिटरभन्दा बढी पानी पर्नु भारी वर्षा हो ।

 

‘अहिले झापा र बाँकेमा गएको तीन घण्टादेखि भारी वर्षा भइराखेको छ र पूर्वी तराईमा अझै ठूलो वर्षा हुनसक्ने सम्भावना पनि छ’ वरिष्ठ मौसमविद कँडेलले भनिन् । देशभर एकनासले झरी नपरेर कुनै-कुनै क्षेत्रमा मात्र ठूलो पानी पर्ने सम्भावना रहेको उनले बताइन् ।

 

बरिष्ठ मौसमविद कँडेलका अनुसार आगामी केही दिनमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ (नेपालतर्फ) सर्ने सम्भावना छ । यदि नेपाल नजिक आएमा पानी पर्ने क्रम झन् बढ्ने सम्भावना रहने मौसमविदहरु बताउँछन् ।