झापा। स्ट्राइकर समीर कुमार चम्किँदा दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिपमा नेपालले १० खेलाडीमा समेटिएको श्रीलंकाविरुद्ध २-० को जित हासिल गरेको छ ।

 

सोमबार कोलम्बोस्थित ‘कोलम्बो रेसकोर्स स्पोर्टस कम्पलेक्स’मा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा नेपाललाई जित दिलाउन दुबै गोल समीरले गरेका हुन् । जितसँगै नेपालले सेमिफाइनल होडमा एक पाइला अगाडि सारेको छ ।

 

समीरले खेलको ५२औं मिनेटमा नेपाललाई ‘ब्रेक थ्रु’ दिलाएका थिए । लेफ्ट साइडबाट प्रतिश थापामगरको सुन्दर क्रसमा बक्सभित्र कुनै पनि निगरानीमा नरहेका समीरले हेडरमार्फत गोल गरे । उनको हेडरले पहिलो बारको जाली चुम्दा गोलकिपर शाथिन कथाफीले कुनै पनि प्रतिक्रिया जनाउन सकेनन् ।

 

इन्जुरी समयमा निश्चल मगरको सुन्दर थ्रु पासमा समीरले व्यक्तिगत दोस्रो गोल गरे । गोलकिपर शाथिन अगाडि बढेको स्थितिमा उनले बललाई पहिलो बारमा ‘प्लेसिङ’ गरेका थिए ।