झापा । बुद्धशान्ति १ स्थित त्रिभुवन माविको मैदानमा आयोजित होक्से च्यालेञ्ज कप फुटबल प्रतियोगिताको उपाधि अर्जुनधाराको शनिश्चरे फुटबल क्लबले जितेको छ ।

 

आज भएको फाइनल खेलमा आयोजक होक्से युवा क्लबलाई उसैको घरेलु मैदानमा ३-१ गोलअन्तरले पराजित गर्दै शनिश्चरे एफसी तेस्रो संस्करणको च्याम्पियन बनेको हो ।

 

श्याम मुर्मूको गोलसँगै अग्रता बनाएको होक्सेले आफ्नो अग्रता जोगाउन नसक्दा उपविजेतामा सीमित बन्न पुग्यो । १-० गोलले पछि परेको अवस्थालाई उल्टाउन निमा तामाङले २ गोल गर्दा पेमा तामाङको नाममा एक गोल रह्यो ।

 

जितसँगै शनिश्चरे एफसीले नगद १ लाखसहित आकर्षक ट्रफी पायो भने उपविजेता होक्से युवा क्लबले ५० हजारमा चित्त बुझाएको छ । खेलको प्लेयर अफ दी म्याच शनिश्चरेका निकेश श्रेष्ठ भए ।

 

यसैगरी, सर्वाधिक गोलकर्ता शनिश्चरेका निमा तामाङ भए । उनले खेल अवधिभर ७ गाेल गरेका थिए । यस्तै, उत्कृष्ट गोलरक्षक शनिश्चरेकै अनुप तामाङ, बेस्ट डिफेन्डर होक्सेका कप्तान भुपाल जर्घा मगर र बेस्ट मिडफिल्डर होक्सेकै आशिष लावती घोषित भए । उनीहरुले नगद पुरस्कार पाए ।

 

बुद्धशान्ति १ को होक्से युवा क्लबले आयोजना गरेको प्रतियोगितामा झापा, इलाम र मोरङका ८ वटा टिमको सहभागिता रहेको थियो ।