बिर्तामोड । झापाको शिवसताक्षीमा आजदेखि सुरु एलभिडी झापा महिला गोल्डकपमा नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडको गोलपोस्टमा गोल वर्षा गरेको छ ।
दूधे रंगशालामा भएको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले शानदार जित दर्ता गरेको हो । ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडमाथि ८-० गोलको फराकिलो नतिजा पुलिसले निकालेसँगै सेमिफाइनल यात्रा तय गरेको छ ।
पुलिसका तर्फबाट मिना देउवाले एक्लै ५ गोल गर्दा रेखा पौडेलले ह्याट्रिक पूरा गरिन् । रेखाले खेलको ३७औँ, ८०औँ र ९२औँ मिनेट गोल गरिन् । त्यस्तै, मिनाले ५१औँ, ६०औँ, ६२औँ, ६८औँ र ८१औँ मिनेटमा गोल गरेर पहिलो खेलमै सर्वाधिक गोलकर्ताको सूचीमा नाम लेख्न सफल भइन् ।
खेलको प्लेयर अफ द म्याच पुलिसकी मिना देउबा भइन् । उनले नगद १५ हजार र ट्रफी पाइन् । उनलाई प्रमुख अतिथि शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्रा, आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा र ग्यारेज क्याफेका सञ्चालक लुका राईले ट्रफी प्रदान गरेका थिए ।
भोलिको दोस्रो क्वार्टरफाइनल खेल सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र पाहुना टोली सिंग्लिङ स्पोर्टिङ क्लब सिक्किमबीच हुनेछ । दुधे रंगशालामा जारी प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष थोप्राले जानकारी दिए ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा आठवटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, नेपाल पुलिस क्लब, संकटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब र आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।