बिर्तामोड । झापा एफसीलाई पहिलो खेलमै स्तब्ध बनाएर संकटा एफसी झापामा जारी एलभिडी झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

दूधे रंगशालामा आज भएको तेस्रो क्वार्टरफाइनल खेलमा झापा एफसीलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

 

संकटाका लागि २३औँ मिनेटमा सेनु परियार, ४७औँ मिनेटमा समिक्षा मगर, ५५औँ मिनेटमा भुटानबाट अनुबन्धित विदेशी खेलाडी छिरिङ वांग्देन, ६१औँ र ८३औँ मिनेटमा पूर्णिमा राई, दास्रो हाफमा थपिएको अन्तिम मिनेटमा अरुणा स्याङतेनले गोल गरेकी हुन् ।

 

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पूर्णिमा राई प्लेयर अफ द म्याच भइन्, जसअन्तर्गत उनले नगद १५ हजार र ट्रफी प्राप्त गरिन् । संकटाले अब पुलिससँग शुक्रबार पहिलाे सेमिफाइनल खेल्नेछ । बिहीबार त्रिभुवन आर्मी एफसीले आएस पाेखरासँग अन्तिम क्वाटरफाइनल खेल खेल्नेछ ।

 

प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ । विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् । हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिनेछ ।