बिर्तामोड । संकटा क्लबसँगको रोमाञ्चक खेलमा जित हात पार्दै नेपाल पुलिस क्लब जारी एलभिडी झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

 

झापाको दूधे रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा २-० गोलको नतिजा निकालेर पुलिस उपाधि होडमा उक्लिएको हो । दुवै टोलीका लागि संघर्षपूर्ण खेलमा नतिजा भने दोस्रो हाफको अन्त्यतिर निस्किएको हो ।

 

पुलिसको जितमा मिना देउबा र रेखा पौडेलले गोल गरेकी हुन् । खेलको ७०औँ मिनेटमा पुजा रानाकोे फ्रिकिक प्रहारलाई मिना देउबाले हेडर गोल गरेकी हुन् ।

 

यस्तै, ८२औँ मिनेटमा रेखा पौडेलले सुशिलाकुमारी चौधरीसँगको वान भर्सेस वानमा गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाएकी थिइन् । उनी प्लेयर अफ दी म्याच बन्दै नगद १५ हजार पाउन सफल भइन् ।

 

पुलिसले फाइनल यात्रासँगै कम्तिमा नगद ५ लाख सुरक्षित गरेको छ । अब शनिबार हुने सशस्त्र प्रहरीको एपिएफ एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबीचको विजेतासँग पुलिसले कात्तिक २४ गते फाइनल खेल खेल्नेछ ।

 

गोल्डकपको च्याम्पियन बन्ने टोलीले नगद १० लाख १० हजारसहित च्याम्पियन ट्रफी पाउने छ । यस्तै, सर्वोत्कृष्ट खेलाडीले नगद १ लाख ५० हजारसहित आकर्षक ट्रफी पाउने छ ।

 

यसैगरी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् । हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिनेछ ।