ताप्लेजुङ । आगामी मंसिर २३ गतेदेखि सिरिजङ्गा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका ४ स्थित तेल्लोकमा गोल्डकप तथा मेला सञ्चालन हुने भएको हो ।
आयोजक तेल्लोक स्पोर्टिङ क्लबले फुङलिङमा पत्रकार सम्मेलन गरी गोल्डकपबारे जानकारी दिएको हो । गोल्डकपको फाइनल मंसिर २९ गते हुनेछ । आयोजक क्लबका अध्यक्ष अर्जुन भट्टराईका अनुसार किरात लिम्बू लिपीका प्रचारक, सिरिजङ्गा लिपी र याक्थुङ संस्कृतिका प्रणेता सिरिजङ्गासिंह थेबेको जन्मजयन्तीको अवसर पारेर सिरिजङ्गा मेलासहित अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप सञ्चालन गर्न लागिएको हो ।
उनका अनुसार पाचौँ संस्करणको गोल्डकप गतवर्षबाट अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता सुरु भएको हो । यसवर्ष प्रतियोगितामा विदेशी टिमसहित ८ टिमले सहभागिता जनाउँदै छन् ।
जसमा आयोजक तेल्लोक स्पोर्टिङ क्लब, न्यू स्टार फुटबल क्लब झापा, पारिजात सङ्घ फुटबल क्लब, सिलगुढी भारत, रेडहर्ष फुटबल क्लब इलाम, वाइवाई पाँचथर क्लब पाँचथर, साँगुरीगढी फुटबल क्लब धनकुटा, मरिक एफसी धरान र म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुमको सहभागिता रहने छ ।
गोल्डकपको विजेताले नगद ३ लाख ३२१ र उपविजेताले एक लाख ५० हजार ३२१ सहित ट्रफी पाउने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान ५-५ हाजार प्रदान गरिने छ । फुटबल प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न करिब ४१ लाख रुपैयाँ खच हुने अनुमान गरिएको आयोजकको भनाइ छ ।