काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको पहिलो खेलका टिकटहरू सबै बिक्री भएका छन् । खल्ती मोबाइल वालेटबाट टिकट काट्ने सुविधा रहेकोमा पहिलो दिन, मंसिर १ का लागि टिकट ‘सोल्ड आउट’ भएका हुन् ।
क्यानका प्रवक्ता छुम्बी लामाले पहिलो दिनको सबै टिकट बीक्री भएको पुष्टि गरे । त्यस्तै खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले पनि शुक्रबार दिउँसोसम्म प्रिमियम र साधारण दुवैतर्फको सम्पूर्ण टिकट बिक्री भएको बताए ।
उनले पहिलो पटक (सिजन १) को तुलनामा यसपटक अलि ढिलो गरी टिकट सोल्ड आउट भएको बताए । गत सिजनमा भने दुई घण्टा वा तीन घण्टामै टिकट सकिए पनि यसपटक चाहिँ करिब २४ घण्टा समय लागेको उनको अनुभव छ ।
अहिले सिट संख्या निश्चित भएकाले टिकट बिक्रीमा पनि सहजता भएको उनको भनाइ छ । खड्काका अनुसार क्यानले खल्तीलाई करिब ८ हजार टिकट बेच्न दिएको छ भने २ हजारजति टिकट खेलाडीका परिवार, प्रायोजक, आयोजकलगायतका लागि छुट्याइएका हुन्छन् ।
सोमबारबाट एनपीएल सुरु हुँदैछ । साधारण टिकटको मूल्य उद्घाटन खेल र शनिबारको खेलका लागि ५०० रुपैयाँ तोकिएको छ भने अन्य दिनका खेलका लागि पनि ५०० रुपैयाँ नै तोकिएको छ । प्ले अफ तथा फाइनलका लागि भने साधारण टिकटको मूल्य १००० रुपैयाँ पर्नेछ ।
यस्तै प्रिमियम टिकटको मूल्य उद्घाटन खेल र शनिबारको खेलका लागि १५०० रुपैयाँ तोकिएको छ । अन्य दिनका लागि प्रिमियम टिकटको मूल्य १००० रुपैयाँ छ । प्ले अफ तथा फाइनलका लागि २००० रुपैयाँको प्रिमियम टिकट किन्नुपर्ने छ । इकान्तिपुरबाट