ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ) मा एक महिनामा ३४ लाख ४८ हजारभन्दा बढी भेटी सङ्कलन भएको छ । कात्तिक महिनामा उक्त रकमबराबरको भेटी सङ्कलन भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको मसान्तमा सार्वजनिक गर्दै आइरहेको विवरणअनुसार कात्तिक महिनामा भक्तजनहरूले ३४ लाख ४८ हजार ५०० रुपैयाँ भेटी पाथीभरा मन्दिरमा चढाएका हुन् ।
अहिले पाथीभरा दर्शनका लागि प्रमुख सिजन भएका कारण दर्शनार्थीको सङ्ख्यामा समेत वृद्धि भएकाले भेटी रकम पनि यो महिना वृद्धि भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।
तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरि पोकामा लाहा छाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् । संकलित रकम फुङलिङमा रहेको कार्यालयमा ल्याएर दैनिक गणना गरि बैँकमा जम्मा गर्ने प्रचलन रहेको छ ।
कर्मचारीले कार्यालय समयमा प्रहरी तथा सिसिटिभीको निगरानीमा भेटी गणना गर्ने गरेको छ । आइतबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार कात्तिक महिनामा ४२ हजार २६१ जना तीर्थयात्री दर्शनका लागि पाथीभरा मन्दिर आएका थिए ।