ताप्लेजुङ । अन्तरपालिकास्तरीय कन्चनजंघा सेसेलुङ महिला गोल्डकपमा फुङलिङ नगरपालिकाले स्पष्ट जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
स्थानीय भानुजन माविको खेलमैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा फक्ताङलुङ गाउँपालिकालाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै फुङलिङले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
प्रतिस्पर्धात्मक पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । तर, दोस्रो हाफमा फुङलिङले तीन गोल गर्दै जित पक्का गरेको हो । खेलको ४५औँ मिनेटमा सम्झना लावतीले गोल गर्दै अग्रता दिलाएकी थिइन् ।
यसैगरी, सम्झनाकै पासमा सुजता पालुङ्वाले गोल गरेर फुङलिङको अग्रता दोब्बर बनाएकी हुन् । तेस्रो गोल समिक्षा मगरको नाममा रह्यो । उनले खेलको ५४औँ मिनेटमा गोल गरेकी हुन् ।
खेलको प्लेयर अफ दी म्याच फुङलिङकी सम्झना लावती बनिन् । उनले नगद ५ हजार पाइन् । भोलि मंगलबार सिदिङ्वा गाउँपालिका र मेरिङ्देन गाउँपालिकाबीच हुनेछ ।
चासोक तङनाम सञ्चालन समितिले आयोजना गरेको गोल्डकपमा जिल्लाका आठ वटा पालिकाको सहभागिता रहेको छ । मंसिर २० गते हुने फाइनल खेलको विजेताले नगद २ लाख २ हजार ८२ सहित आकर्षक ट्रफी पाउने छ । यसैगरी, गोल्डकपको उपविजेताले नगद १ लाख २ हजार ८२ मा चित्त बुझाउनु पर्नेछ ।
प्रत्येक खेलको प्लेयर अफ दी म्याचले नगद ५ हजार पाउँदा विधागत पुरस्कारतर्फ नगद ८ हजार प्रदान गरिने आयोजक समितिका अध्यक्ष चन्द्र थेवेले जानकारी दिएका छन् । सर्वोत्कृष्ट खेलाडीले नगद १० हजारसहित ट्रफी पाउने छ ।