खेजेनिम (ताप्लेजुङ) । आठराई त्रिवेणी गाउँपालिकाको चाँगे माछापोखरी हिटी क्लब फक्ताङलुङ गाउँपालिका २ स्थित आहाले खेलमैदानमा आजदेिख सुरू प्रथम मानाभारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आयोजक मानाभारा युथ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ५-३ गोलअन्तरले पराजित गर्दै चाँगेले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो ।
खेलमा अग्रता आयोजकले बनाएको थियो । आयोजकका कप्तान मनराज लिम्बूले खेलको ५१औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, ५८औँ मिनेटमा चाँगेका दिपेश श्रेष्ठले गोल गर्दै बराबरी गरेका थिए ।
यसैगरी, चाँगेकै दिपेश श्रेष्ठले नै ६०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर २१ गोलअन्तरमा पुर्याए । तर, ४ मिनेटपछि आयोजकका विवेक लिम्बूले बराबरी गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।
खेलको प्लेयर अफ दी म्याच चाँगेका दुई गोल गरेका दिपेश लिम्बू घोषित भए । उनले नगद २ हजार ५ सय प्राप्त गरे । भोलि दुई वटा क्वाटरफाइनलका खेल हुनेछन् ।
जसमा सिँवा स्पोर्टिङ क्लब लिङ्खिम र सिदिङ्वा गाउँपालिका ७ सुरुम्खिमको लालीगुराँस फुटबल क्लबबीच खेल हुनेछ । यसैगरी, आमन्त्रित टोली लिखुभुजी युथ क्लब रामेछाप र मैवाखोला गाउँपालिकाको जनआदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुबीच खेल हुनेछ ।
मानाभारा युथ स्पोर्टिङ क्लबले आयोजना गरेको गोल्डकपको फाइनल पुस १९ गते हुनेछ । प्रतियोगिताको विजेताले तीन लाख दुई हजार ८२ रुपैयाँ र उपविजेताले एक लाख ५२ हजार ८२ रुपैयाँसहित ट्रफी पाउने छ ।