ह्वाकु (तेह्रथुम) । श्रीजङ राय पापो समाज यहाँ आठराई गाउँपालिका ३ स्थित ह्वाकुमा आयाेजित श्रीजङ राय स्मृति फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

 

मौलाडाँडा खेलमैदानमा आज भएको छैटौ संस्करणको फाइनल खेलमा लामा गुरुङ एकता समाजलाई २-० गोलअन्तरले पराजित गर्दै पापो समाज च्याम्पियन बनेको हो ।

 

पापो समाजका दिपेश लिम्बूले खेलको २७औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक खेलमा सन्तु फोम्बोले ५६औँ मिनेटमा गोल गर्दै पापो समाजको अग्रता दोब्बर बनाएको हुन् ।

 

खेलको प्लेयर अफ दी म्याच पापो समाजका सन्तु फोम्बो भए । उनले नगद दुई हजार पाए । प्रतियोगिताको बेस्ट गोलकिपर पापो समाजका विपिन फोम्बो हुँदा बेस्ट डिफेन्डर दिप्सन लिम्बू भए ।

 

सर्वाधिक गोलकर्ता लामा समाजका सागर श्रेष्ठ भए । उनीहरुले जनही ३-३ हजार नगदसहित ट्रफी पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लामा समाजका सन्तोष खजुम भए । उनले नगद ५ हजारसहित ट्रफी पाए ।

 

इङनाम इवाहाङ युवा समाजले आयोजना गरेको प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता पापो समाजले नगद १ लाख २५ हजार ५५५ सहित आकर्षक ट्रफी पायो भने उपविजेता लामा समाजले नगद ७५ हजार ५५५ मा चित्त बुझाएको छ ।