बिर्तामोड । डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेड त्रिभुवन आर्मी एफसीसँग झापा गोल्डकपको सातौँ संस्करणको पहिलो खेलबाटै बाहिरिएको छ ।

 

चार पटकको च्याम्पियन आर्मीले चर्च ब्वाइजलाई ३-० गोलले स्तब्ध पार्दै झापाको डोमालाल राजवंशी रंगशालामा आज भएको एक्स्ट्रिम झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

 

खेलको २७औँ मिनेटमा दिनेश हेञ्जनको क्रस पासमा नविन लामाले वान टचमा आर्मीका लागि सुन्दर गोल गर्दै अग्रता दिलाएका थिए । आर्मीले अर्को गोल पहिलो हाफको इन्ज्युरी समयमा गर्दै अग्रता दोब्बर बनायो । कप्तान जिलेस्पीजंग कार्कीको पासमा नवयुग श्रेष्ठले गरेको एक्रोब्याटिक प्रहार गोलमा परिणत भयो ।

 

आर्मीले अर्को गोल फ्रिकिकमार्फत गर्न सफल भयो । जर्जप्रिन्स कार्कीले मैदानको २५ यार्डमा पाएको बललाई सिधै जाली चुमाए । खेलको ३२ औँ मिनेटमा आर्मीका कुशल देउवाले गरेको शक्तिशाली प्रहारलाई चर्च ब्वाइजका गोलकिपर दिप कार्कीले उत्कृष्ट बचाउ गरे ।

 

उपाधिको दाबेदार मानिएको आर्मी यो रंगशालामा आयोजना भएका प्रतियोगिताको चार सिजनको विजेता हो । गत सिजनदेखि सहभागिता जनाएको चर्च ब्वाइजले पहिलोपटक नै उपाधि हात पारेको थियो ।

 

खेलको प्लेयर अफ द म्याच आर्मीका नविन लामा घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । सोमबारको पहिलो क्वार्टरफाइनल खेल झापा ११ फुटबल क्लब र भारतको सिङलिङ स्पोर्टिङ क्लब सिक्किमबीच हुनेछ ।

 

प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।