जोरपोखरी । पाँचथरको हिलिहाङ ६ स्थित जोरपोखरी माविको खेलमैदानमा आजदेखि सुरु तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित फिदिम भेट्रान्स गोल्डकपमा आयोजकसँगै आठराई भेट्रान्स विजयी भएका छन् ।
उद्घाटन खेलमा आयोजक फिदिम भेट्रान्सले पाहुना टोली उदयपुरको बेलका भेट्रान्स क्लबलाई ४-१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । फिदिमका लागि सुदिप श्रेष्ठ, सुबास फियाक, टिकाराम विक र दिनेश गुरुङले समान १-१ गोल गरे ।
उदयपुरले खेलको अन्त्यतिर पाएको पेनाल्टीमार्फत गोलको खाता खोलेको हो । उसका लागि राजन मगरले गोल गरे । खेलमा उत्कृष्ट प्रदर्शन गरेका आयोजकका बुद्ध चेम्जोङ प्लेयर अफ दी म्याच बन्दै नगद २ हजार ५ सय पाउन सफल भए ।
आजै हुने भनिएको दोस्रो खेलमा भारतको युनाइटेड फ्रेण्डस् क्लब दार्जीलिङ उपस्थित हुन नसकेपछि तेह्रथुमको आठराई भेट्रान्सले वाकओभर पाउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । अब आयोजकले आठराईसँग पहिलो सेमिफाइनल खेल्नेछ ।
फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले उद्घाटन गरेको गोल्डकपको फाइनल खेल चैत २८ गते हुनेछ । गोल्डकपमा ८ टोली सहभागी छन् । विजेताले नगद १ लाख २५ हजारसहित ट्रफी पाउने छ भने उपविजेताले नगद ७५ हजारमा चित्त बुझाउने छ ।
भोलि (बिहीबार) फाक्तेप क्लब शिवसताक्षी -झापा)ले फेमेगुरुङ भेट्रान्स इलाम र रेड स्टार भेट्रान्स क्लब झापाले धराने ब्रदर्स सुनसरीसँग प्रतिस्पर्धा गर्नेछन् ।