बिर्तामोड । आयोजक सेतो झापामा आयोजित चौथो बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

 

बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको फाइनल खेलमा आयोजक बिर्तामोड सेतोले चन्द्रगढी भेट्रान्स क्लबलाई ४-० गोलको फराकिलो नतिजाबाट पन्छाउँदै उपाधि रक्षा गरेको हो ।

 

फुटबलप्रेमी तथा पहिलो पुरस्कारर सौजन्यकर्ता नेत्रनारायण श्रेष्ठले उद्घाटन गरेको खेलमा आयोजकका जितका लागि बुद्ध चेम्जोङले ह्याट्रिक पूरा गरे भने कन्याज गुरुङको नाममा एक गोल रह्यो ।

 

बुद्धले खेलको २ मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए । उनले ३०औँ र ६१औँ मिनेटमा गोल गर्दैै ह्याट्रिक पूरा गरेका हुन् । बिर्तामोडका लागि कन्याज गुरुङले खेलको ४७औँ मिनेटमा गोल गरेका थिए ।

 

प्रतियोगिताको विधागत पुरस्कारमा पनि आयोजककै वर्चश्व रह्यो । प्रतियोगिताको हाइस्कोरर बिर्तामोडका बुद्ध चेम्जोङ भए । बेस्ट गोलकिपर बिर्तामोडकै अमित गुरुङ, बेस्ट डिफेन्डर विष्णु सुनार, बेस्ट मिडफिल्डर विशाल राई, बेस्ट कोच प्रेमकृष्ण श्रेष्ठ र चन्द्रगढीका प्रेम लिम्बू बेस्ट फरवार्ड भए । उनीहरुले जनही २ हजार ५ सय र ट्रफी पाए ।

 

खेलको प्लेयर अफ दी म्याच बिर्तामोडकै सञ्जीव बुढाथोकी भए । उनले नगद १ हजार ५ सय पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बिर्तामोडकै कन्याज गुरुङ भए । उनले नगद ५ हजार र ट्रफी पाए ।

 

च्याम्पियन बनेको बिर्तामोड भेट्रान्स एफसीले नगद १ लाख १ हजारसहित ट्रफी पाउँदा उपविजेता बनेको चन्द्रगढी भेट्रान्सले नगद ५१ हजार र ट्रफीमा चित्त बुझाएको छ ।

 

विजेता तथा उपविजेता टिमलाई प्रमुख अतिथि नेत्रनारायण श्रेष्ठ, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, आयोजक क्लबका अध्यक्ष किरण थापालगायतले पुरस्कार प्रदान गरेका थिए ।