झापा । बजारमा आयोडिनयुक्त नुनको प्रयोगबारे फैलाइएका भ्रम र गुणस्तरहीन नुनको बिक्री वितरणप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले आयोडिनयुक्त नुनको नियमित प्रयोग गर्न र अखाद्य नुनको कारोबार रोक्न कडाइका साथ अनुगमन गर्नुपर्नेमा जोड दिइएको छ ।
राष्ट्रिय उपभोक्ता मञ्च झापा जिल्ला कार्यसमितिको आयोजनामा बिर्तामोडमा सम्पन्न ‘बजारमा उपलब्ध नुनको गुणस्तर तथा यसको उपभोगबाट हुनसक्ने जोखिम’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले आयोडिनयुक्त नुनबारे सामाजिक सञ्जाल र बजारमा फैलाइएका भ्रामक प्रचारले उपभोक्तामा अन्योल सिर्जना गरेको बताएका हुन् ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईं प्रमुख अतिथिका रूपमा सहभागी थिइन् । राष्ट्रिय उपभोक्ता मञ्च झापा जिल्ला कार्यसमितिका अध्यक्ष मदनगोपाल सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने कुनै पनि गतिविधि सह्य नहुने बताइन् ।
स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष सुब्बाले बजारमा विभिन्न नाममा बिक्री भइरहेका नुनको गुणस्तरबारे उपभोक्ता सचेत हुन आवश्यक रहेको बताए । उनले सामाजिक सञ्जालमार्फत आयोडिनयुक्त नुन हानिकारक हो भन्ने गलत प्रचार भइरहेको उल्लेख गर्दै वैज्ञानिक आधारबिना फैलाइने भ्रमबाट जोगिन आग्रह गरे ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले मानव शरीरका लागि आयोडिन अत्यावश्यक सूक्ष्म पोषकतत्व भएको बताए । विशेषगरी गर्भवती महिला, सुत्केरी र बालबालिकाका लागि आयोडिनयुक्त नुन अत्यन्त आवश्यक रहेको उनको भनाइ थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख सुवासचन्द्र वस्तीले आयोडिन भएको र नभएको नुनबीचको भिन्नताबारे जानकारी दिँदै बजारमा बिक्री भइरहेको आयोडिनयुक्त नुन स्वास्थ्य मापदण्डअनुसार सुरक्षित रहेको बताए । उनले नुन खरिद गर्दा प्याकेटमा उत्पादन मिति, आयोडिनको मात्रा र गुणस्तर चिह्न हेर्न उपभोक्तालाई सुझाव दिए ।
वरिष्ठ बालरोग विशेषज्ञ टंक बाराकोटीले आयोडिनको कमीले बालबालिकाको बौद्धिक विकासमा प्रत्यक्ष असर पर्ने बताए । ‘बालबालिकाको दिमाग सुस्त हुने, सिकाइ क्षमता कमजोर हुने, गलगाँड देखिने तथा गर्भवती महिलामा समेत जटिलता आउन सक्छ’, उनले भने।
राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले बजारमा औद्योगिक तथा व्यावसायिक प्रयोजनका लागि ल्याइएका केही नुन उपभोग्य सामग्रीका रूपमा महँगो मूल्यमा बिक्री भइरहेको गुनासो आएको बताए । त्यस्ता अखाद्य नुनको बिक्री रोक्न सम्बन्धित निकायले नियमित अनुगमन गर्नुपर्ने उनको भनाइ थियो ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड लाहान शाखाका प्रमुख जितेन्द्र शाहले आयोडिनयुक्त र आयोडिनरहित नुन छुट्याउने तरिकाबारे प्रयोगात्मक अभ्यास गराएका थिए । मञ्चका सचिव सुरेन्द्र भण्डारीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन पत्रकार केशव भट्टराईले गरेका थिए ।