बिर्तामोड । झापा अर्जुनधाराको शनिश्चरे एफसी यहाँ आयोजित दोस्रो बिर्तामोड युनाइटेड च्यालेञ्ज कपको च्याम्पियन बनेको छ ।

 

डोमालाल राजवंशी रंगशालामा आज भएको फाइनल खेलमा कचनकवलको बगान युथ एफसीलाई २-० गोलको नतिजाबाट स्पष्ट जित निकाल्दै शनिश्चरे च्याम्पियन बनेको हो । पहिलाे संस्करण इलामकाे रेडहर्ष एफसीले जितेकाे थियाे ।

 

शनिश्चरेका लागि खेलको ७ मिनेटमै आयुश राईले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै, निखिल तामाङले खेलको ७६औँ मिनेटमा थप गोल गरेर उपाधि सुनिश्चित गरेका हुन् ।

 

खेलको प्लेयर अफ दी म्याच शनिश्चरेका आयुश राई भए । उनले नगद तीन हजार पाए । आयोजक बिर्तामोड युनाइटेका पवन बास्के इमर्जिङ प्लेयर  भए । यस्तै, शनिश्चरेका अनुप तामाङ बेस्ट किपर, नानी लिम्बू बेस्ट कोच र शनिश्चरेकै देवेन्द्र तामाङ बेस्ट प्लेयर भए ।

 

यसैगरी, बगानका पुजन थापामगर बेस्ट मिडफिल्डर, गिल्सन कन्दङवा बेस्ट स्ट्राइकर बन्दा सञ्जय लिम्बू बेस्ट डिफेन्डर भए । उनीहरुले जनही ५५ हजार पाउँदा बेस्ट प्लेयर बनेका देवेन्द्र तामाङले नगद १० हजार र ट्रफी पाए ।

 

झापा र मोरङका ८ टिम सहभागी भएको प्रतियोगिताको च्याम्पियन बनेको शनिश्चरे एफसीले नगद १ लाख ११ हजार १११ सहित ट्रफी पायो भने उपविजेता बगान युथले नगद ५५ हजार ५५५ र ट्फीमा चित्त बुझाएको छ ।

 

उनीहरुलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आलेमगर, पुरस्कार दाता नेत्रनारायण श्रेष्ठ, आयोजक क्लबका अध्यक्ष भुपेन लिम्बू, खेल संयोजक अनिष सुवेदी, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, झापा जिल्ला हक्की संघका अध्यक्ष मनोज बुढाथोकी, आयोजकका आशिष चापागाइँ, अभिषेक बराल, न्यूटन लाम्गादेलगायतले पुरस्कार वितरण गरेका थिए ।