बिर्तामाेड । झापाको बिर्तामोडमा राष्ट्रिय स्तरको दोस्रो नेपाल मास्टर्स स्नुकर प्रतियोगिता आजदेखि सुरु भएको छ । बिर्तामोड स्नुकरद्वारा आयोजित प्रतियोगिताको उद्घाटन बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंले गरेकी हुन् ।

 

बिर्तामोड स्नुकरका सञ्चालक खेम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व खेलाडी तथा झापा जिल्ला बास्केट बल संघका अध्यक्ष प्रकाश लिङदेनले झापामा स्नुकरको थालनी, अवस्था र सम्भावनाका विषयमा आफ्ना भनाइ राखेका थिए ।

 

बिर्तामोड नगर खेलकुद विकास समिति सहआयोजक रहेको प्रतियोगितामा नेपालका टप १६ राष्ट्रिय स्नुकर खेलाडीसहित कोशी प्रदेशका १६ जना गरी ३२ जना खेलाडीको सहभागिता रहेको छ । त्यस मध्ये ८ जना खेलाडीहरु बिर्तामोडकै हुन् । ८ दिनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद २ लाखसहित रनिङ ट्रफी पाउने छ ।

 

यसैगरी, उपविजेताले नगद १ लाख पाउँदा हाइयस ब्रेकरलाई ३५ हजार र सेन्चुरी ब्रेकरलाई २५ हजार प्रदान गरिने बिर्तामोड स्नुकरका अर्का सञ्चालन नवल अग्रवालले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब १४ लाख खर्च हुने बताइएको छ ।

 

ओझेलमा परेको स्नुकर खेललाई प्रतियोगितामार्फत संरक्षण गर्दै खेलाडीहरुलाई प्रोत्साहन गर्नका लागि प्रतियाेगिता आयोजना गरिएको आयोजक बिर्तामोड स्नुकरका सञ्चालक खेम बुढाथोकीले जानकारी दिए ।