शनिश्चरे । झापाको अर्जुनधारास्थित शनिश्चरे बजारमा आयोजना गरिएको ‘रोजगार मेला’बाट १२१ जनाले रोजगारी पाउने भएका छन् ।

 

अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोग तथा अर्जुनधारा उद्योग वाणिज्य संघको आयोजनामा असार ३ देखि ५ गतेसम्म मेला आयोजना गरिएको थियो । करिब १८० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने लक्ष्य राखेर आयोजना गरिएको मेलाबाट १२१ जनाले रोजगारी पाउने निश्चित भएको संघले जनाएको छ ।

 

मेलाबाट वेटर ४ जना, कुक १० जना, हाउसमेन २० जना, सेक्युरिटी गार्ड १३ जना, पसलहरुमा २५ जना, केयरगिभर ६ जना, शिक्षक ५ जना, लोडअनलोडमा १० जना र ड्राइभर लाइसेन्स प्राप्त १० जनाले रोजगार पाउने भएका संघका अध्यक्ष इन्दिवर खड्काले जानकारी दिए ।

 

रोजगार मेलामा २५० जना ब्यूटीसियन, ३०० जना इलेक्ट्रिसियन, कम्युटरसम्बन्धी १२५ जना, वेटर, सेल्स, शिक्षक, लेखा, हाउस किपिङ, बारिस्ता, मन्टेश्वरी, सेक्युरिटी र सहयोगी गरेर १५० जना र बेकरीमा १५० जनाले परामर्श लिनुका साथै केहीले तालिम लिएको अध्यक्ष खड्काको भनाइ छ ।

 

रोजगार मेलामा नगरले रोजगारसम्बन्धी हेर्ने एक जना कर्मचारी दिए प्रत्येक वर्ष थप १०० जनालाई रोजगारी दिन सकिने संघका अध्यक्ष खड्काको दाबी छ ।

 

अर्जुनधाराका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले मेलाले बेरोजगार समस्या न्यूनीकरणमा सहज भएको बताए । उनले रोजगार मेला केही वर्ष अगाडिदेखि लाउनुपर्ने बताउँदै ढिलै भए पनि यस वर्षदेखि शुरु गरिएको र आगामी दिनमा यस प्रकारका मेला तथा महोत्सवलाई निरन्तरता दिने बताएका छन् ।

 

दक्ष श्रमिकको अभाव र बेरोजगारीको समस्या समाधानका लागि रोजगार मेला प्रभावकारी भएको उनको दाबी छ । रोजगार मेलाले सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै नागरिकलाई रोजगारीका अवसरबारे प्रत्यक्ष जोडेको पनि उनले बताए ।

 

समापन कार्यक्रममा नगर प्रमुख गोम्देनले विभिन्न स्टलहरूको अवलोकन गरेका थिए । स्वागतसहित कार्यक्रमको औचित्य र मेलाको विवरण अध्यक्ष खड्काले प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी चतुर्भूज काफ्लेले गरेका थिए ।

 

मेलामा रोजगारसम्बन्धी अवसरका साथै जातीय झाँकी, सांस्कृतिक कार्यक्रम तथा धार्मिक पर्यटन प्रवर्द्धनसम्बन्धि गतिविधिसमेत समावेश गरिएको थियो । मेलामा नगरका विद्यालयहरुको उल्लेखिय सहभागिता रहनुका साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

 

रोजगार मेलामा आन्तरिक र बाह्य गरेर करिब ७ हजारले अवलोकन गरेको बताइएको छ । मेलामा विभिन्न किसिमका २५ वटाभन्दा बढी स्टलहरु रहेका थिए ।