झापा । देशभर मनसुन सक्रिय छ । अहिले कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका तराई क्षेत्रसहित विभिन्न ठाउँमा पानी परिरहेको छ । गएराति ठूलो पानी परेको काठमाण्डौ उपत्यकामा बिहानदेखि हल्कामात्रै वर्षा भइरहेको छ ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति विभिन्न ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ । विशेष गरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ ।

 

कोशी, बागमती र गण्डकीका २३ जिल्लामा उच्च जोखिम अनुमान गरिएको छ । ती जिल्लामा रेड अलर्ट छ । कोशीका ९ जिल्ला झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर र खोटाङ रहेका छन् ।

 

यसैगरी, बागमतीका ६ जिल्ला, चितवन, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुली र सिन्धुपाल्चोक तथा गण्डकीका ८ जिल्ला गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ्ग र म्याग्दीमा उच्च जोखिम पहिचान गरिएको हो ।