काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले आज पनि देशभर वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

 

मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने र पानी पर्ने जल तथा मौसम विज्ञान विभागका मौसमविद हरिप्रसाद दाहालले जानकारी दिए ।

 

उनका अनुसार बागमती र गण्डकी प्रदेशका धेरैजसो स्थानमा अहिले पनि मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो हकमा पनि धेरैजसो भूभागमा वर्षाको सम्भावना छ । पहाडी भेगका केही ठाउँमा भारी वर्षाको र एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने उनले बताए ।

 

आज खासगरी बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेश प्रदेश साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघ गर्जनरचट्याङ सहितको मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।

 

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

 

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागद्वारा मौसम बुलेटिनमा उल्लेख छ ।