शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा डेंगु रोग नियन्त्रणका लागि सबै पक्षबाट एकसाथ लार्भा खोज र नष्ट अभियान मंगलबारदेखि सुरु भएको छ ।

 

नगरपालिकाको स्वास्थ्य शाखाको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, विद्यालयका विद्यार्थी, प्रहरी, स्थानीयले एकसाथ लार्भा खोज र नष्ट गर्ने अभियानमा सहभागिता जनाएका हुन् ।

 

किटजन्य रोगको प्रकोप नियन्त्रण तथा रोकथामसम्बन्धी ९० दिने अभियान सुरु गरिएको शाखा प्रमुख राजेन्द्र कुइँकेलले जानकारी दिए । अभियानअन्तर्गत अर्जुनधारा ८ को शनिश्चरे बजार क्षेत्रमा रहेका होटल तथा ग्यारेजमा लार्भा खोजेर नष्ट गरिएको छ ।

 

यसैगरी, अर्जुनधारा ७ को मन्दिर वरपरका घर तथा होटल र ग्यारेजहरुमा खोजी कार्य गरिएको शाखा प्रमुख कुइँकेलले जानकारी दिए । डेंगु रोगको उच्च जोखिममा रहेको यस नगरपालिकामा हालसम्म ३ जनामा संक्रमण भइसकेको तथ्यांक छ ।

 

डेंगुको संक्रमणबाट बच्नका लागि जमेका पानी सफा गर्ने, अनावश्यक पानी जम्न नदिने र लार्भा खोज तथा नष्ट अभियानमात्र विकल्प रहेको बताइएको छ ।

 

घर वरिपरि रहेका भाँडा, गमला, प्लास्टिकको सामग्री, ड्रम, टायरलगायतमा जमेको पानीमा यस लामखुट्टेको बासस्थान रहने र त्यही अण्डा पार्ने यसको जीवनचक्र रहेको छ भने यसले साँझपख मात्र मानिसलाई टोक्ने उनको भनाइ छ । जमेको सफा पानीमा यसले आफ्नो बासस्थान बनाउने गरेको छ ।

 

अभियानको पहिलो दिन शनिश्चरे मावि, स्वस्तिका शिशु सदन र अरूणोदय आधारभूत विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । यो अभियान नगरको ११वटै वडामा सञ्चालन गरिनेछ ।