काठमाडौँ । कोभिड-१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा बुधबार अप्रत्याशित रुपमा बढेको छ ।
मंगलबार प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएको पहेंलो धातुमा बुधबार एक हजार ६ सयले वृद्धि भएको हो ।
बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार चार सय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य एक लाख ९०० निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य ६५ रुपैयाँले बढेको छ । एक तोला सेतो धातुको मूल्य बुधबार एक हजार २९५ रुपैयाँ निर्धारण भएको छ ।
कोभिड–१९ को संक्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २,०२४।५३ अमेरिकी डलर कायम भएको छ । त्यसैगरी प्रतिऔँस चाँदी २५।९६ अमेरिकी डलर निर्धारण भएको छ । रासस