एकतप्पा, इलाम । कोलबोटे एफसीविरुद्ध उत्कृष्ट कमब्याक गर्दै आयोजक क्रिएटिभ सोसियल स्पोर्टिङ एफसी सिकारी भञ्ज्याङमा जारी चौथो एकतप्पा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

 

स्थानीय सिंहदेवी माविको खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजकले कोलबोटे २-० गोलको अग्रता गुमाएपछि आयोजक उपाधि नजिक पुगेको हो । खेलको ३१औँ मिनेटमा दिपिशा राईले गोल गर्दै कोलबोटेलाई अग्रता दिलाएका थिइन् । यसैगरी, ३७औँ मिनेटमा रितिका कार्कीले थप गोल गर्दै कोलबोटेको अग्रता दोब्बर बनाइन् ।

 

तर, खेल सकिन १ मिनेट बाँकी रहँदा सेमीहाङमा लिम्बूले गोल गर्दै खेलमा फर्किने प्रयास गरेकी थिइन् । अन्तिम सिटी बज्न ४० सेकेण्ड रहँदा कोलबोटेकी गोलरक्षक सन्दिला राईको हातबाट फुत्किएको बललाई आयोजककी कप्तान मनिता तुम्रोकले गोल गरेपछि खेल बराबरी भएको थियो । टाइब्रेकरमा ४-२ गाेलअन्तरले आयोजक विजयी भएकाे हाे ।

 

उनी खेलको प्लेयर अफ दी म्याच आयोजक टिमकी जुना तामाङ भइन् । उनले नगद एक हजारसहित ट्रफी पाइन् । आयोजकले सोमबार पाँचथरको एमपीसीसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । फाइनल खेलको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी पाउने आयोजकका अध्यक्ष पदम योङहाङले जानकारी दिए ।