बिर्तामोड । क्षितिज नाट्य समूह झापाका कलाकार यतिवेला सामुहिक कृषि तथा फलफूल खेती व्यवसायमा जुटेका छन् । विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण कलाकारिता क्षेत्र समेत प्रभावित भएपछि उनीहरु कृषिकर्ममा जुटेका हुन् ।
बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधीन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर परिसरमा क्षितिज नाट्य समूह झापाले सामुहिक धानखेती, अग्र्यानिक सागसब्जी तथा ड्रागन फ्रुट खेती र व्यवसायिक सयपत्री फूल खेती गरिरहेको समूह झापाका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण अभियानका अभियन्ता रंगकर्मी माधव कल्पितले जानकारी दिए ।
बिर्तामोड–१ का मनोज निरौलाले निःशुल्क प्रदान गरेको साढे तीन कठ्ठा जग्गा र उनकै छ कठ्ठा जग्गा १० वर्ष लिजमा लिएर दुई करोड रुपैयाँको लागतमा क्षितिज नाट्य समूह झापाको अगुवाईमा प्रदेश नं १ कै एतिहासिक धरोहरका रुपमा निर्माणाधीन झापा नाटक घरको निर्माण कार्य आर्थिक अभाव भएर केही समयका लागि स्थगन हुन पुगेपछि कलाकारहरु व्यावसायिक कृषिकर्ममा जुटेको उनले बताए ।
लकडाउनलाई अवसरको रुपमा सदुपयोग गर्दै समाजमा सिर्जनात्मक उदाहरण प्रस्तुत गर्ने उद्देश्यले व्यावसायिक सामूहिक कृषिकर्ममा जुटेको समूह झापाकी उपाध्यक्ष तथा कलाकार सुजना खतिवडाले बताइन् ।
बिर्तामोडको हनुमान सेन्ट्रलमा इलाम कोसेली भण्डार नामक अग्र्यानिक व्यवसाय समेत सञ्चालन गरिरहेकी उपाध्यक्ष खतिवडाले लकडाउनलाई मानसिक त्रासको रुपमा नलिएर अवसरको रुपमा सदुपयोग गर्दै कृषि कर्म गरे आत्मनिर्भर हुनुका साथै शरीर स्वस्थ भएर कोरोना भाइरस जस्ता महामारीबाट बच्न सकिने बताइन् ।
समूहले झापा नाटक घर परिसरको १० कठ्ठा जमिनमा धान खेती, दुई कठ्ठामा ड्रागन फ्रुट खेती, दुई कठ्ठामा सयपत्री फूल खेती र सहारा नेपालको सहकार्यमा निर्मित एकथान टनेलमा सागसब्जी तथा बेर्ना उत्पादन कार्य अगाडि बढाइरहेको समूहका अध्यक्ष कल्पितले जानकारी दिए ।
समूहले अमेगा तीन र एन्टिअक्सिडेन्ट जस्ता दुर्लभ तत्व भएको घरका करेसाबारी तथा बरण्डामा नै गमलामा समेत लगाउन र फलाउन सकिने ड्रागन फ्रुट खेतीेलाई दुई कठ्ठा जमिनमा लगाएर यसै वर्षबाट व्यावसायिक रुपमा खेतीे शुरु गरेको र ड्रागन फ्रुट, एबोकाडो, किवी लगायतका फलफूलका बिरुवा समेत बिक्री गर्दै आएको समूहका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारीले बताए ।