झापा । अनाधिकृतरुपमा नदीजन्य सामग्री निकाल्ने ६१ वटा सवारी साधनमाथि अर्जुनधारा नगरपालिकाले कारबाहीस्वरुप जरिवाना असुल गरेको छ ।

बितेको असार साउन महिनाको अवधिमा अर्जुनधारा नगरपालिकाको राजश्व शाखाले उक्त सवारी साधनका मालिकमार्फत जरिवानास्वरुप ५ लाख ८५ हजार नगद असुल गरेको छ ।

असार ४ गतेदेखि भदौ ८ गतेसम्म नगर क्षेत्रमा रहेका विभिन्न खोलाबाट नदीजन्य सामग्री निकाल्न पुगेका ६१ वटा ट्याक्टर, टिपर र हलुका सवारीलाई कारबाहीस्वरुप जरिवाना लिइएको हो । राजश्व शाखा प्रमुख डेनजनी आचार्यका अनुसार नगरपालिकाको निर्णय अनुसार हलुका सवारीलाई ५ हजार र ट्याक्टर तथा टिपरलाई १० हजार जरिवाना राखिएको थियो ।

असार महिनामा नियन्त्रणमा लिइएका २० वटा सवारीसाधनमध्ये छ वटा टिपर र अन्य बाँकी ट्याक्टर रहेका छन् । जसमा शनिश्चरे प्रहरी चौकीले १६ वटा तथा सशस्त्र प्रहरी बल शनिश्चरेले ४ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको थियो ।

त्यस्तै, साउन महिनादेखि भदौ ७ गतेसम्ममा ४१ वटा सवारी साधनले अनाधिकृतरुपमा नदीजन्य सामग्री उत्खनन् तथा ओसारपससार गरेका थिए । जसमा शनिश्चरे प्रहरी चौकीले सर्वाधिक २८ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएर नगरपालिकामा दाखिला गरेको थियो ।

त्यस्तै, इलाका प्रहरी कार्यालय अनारमनीले ५ वटा, सशस्त्र प्रहरी बल शनिश्चरे र खुदुनाबारीले समान ४ ४ वटा सवारीसाधन नियन्त्रणमा लिएर नगरपालिकामा दाखिला गरेका थिए ।

अर्जुनधारा नगरपालिका क्षेत्रमा बिरिङ, टाङटिङ, गोयाङ, नेतेलगायतका खोलाबाट ढुंगा, गिटी, बालुवालगायत सामग्री निकालिने गरिन्छ ।