झापा । हल्दिवारी गाउँपालिका वडा नं ३ मा भर्खरै संचालनमा आएको कावेली सिमेन्ट उद्योगमा गएराति आगलागी भएको छ ।

सिमेन्ट उद्योगको पावर हाउसमा राति २ बजेतिर आगलागी हुँदा २ करोडभन्दा बढीको क्षति भएको उद्योगका मेनेजिङ डाइरेक्टर सुमन मैनालीले बताए । उनका अनुसार राति २ बजेतिर परेको चट्याङका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

आगलागी भएपछि स्थानीयले खबर गरेका थिए । स्थानीयबासी तथा भद्रपुर र बिर्तामोडबाट पुगेका २ वटा वारुणयन्त्रले ठूलो क्षति हुनबाट जोगाएका थिए । झापाका युवा व्यवसायीहरुको करिब ६० करोड रुपैयाँको लगानीमा स्थापित उद्योगले गत सातादेखि उत्पादन शुरु गरेको थियो ।

उद्योगलाई पुनः संचालनमा ल्याउन १५ दिन जति लाग्ने जनाइएको छ ।