झापा । भारत सरकारले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मुल्य दोब्बर बढी भएको छ । एक साताअघि खुद्रामा ४० रुपैयाँ प्रतिकेजी पाइने प्याजको मूल्य सय रुपैयाँ पुगेको छ ।

त्यसैगरी ५० केजीको प्रतिबोरा २००० रुपैयाँ पर्ने प्याजको थोक मूल्य ४२०० रुपैयाँमा आज कारोबार भएको छ । कृषि उपज केन्द्र बिर्तामोडका थोक व्यापारी लक्ष्मण शाहको पसलमा प्याज किन्न आउनेहरुको सँख्या थपिएको छ । अरु दिनको तुलनामा आज बिहानैदेखि अलिबढी खुद्रा व्यापारीहरु प्याज किन्न आएका छन् ।

नेपालमा प्याजको अभाव हुने देखेर ग्राहकभन्दा बढी खुद्रा व्यापारीहरु जम्मा भएका थिए । आफूले ७० रुपैयाँको दरले थोकमा प्याज बिक्री गरिरहेको कृषि उपज केन्द्रमा लामो समयदेखि व्यवसाय गर्दै आएका शाहले बताए । उनले भारतबाट आयात नभएपछि आफूसँग स्टक भएको माल सकिएको बताए । उनले भारतको पटना र नासिकबाट प्याज मगाउने गरेका थिए ।

‘मैले ल्याएको प्याज सकिसक्यो’, उनले भने, ‘अब केही दिनमा सय रुपैयाँमा पनि प्याज नपाउन सक्छ ।’ शाहले हप्तामा १५ टन प्याज भारतबाट आयात गरी बिर्तामोडमा बिक्री गर्ने गरेका छन् ।

त्यस्तै कृषि उपज केन्द्रमै थोक व्यापार गर्दै आएका त्रिलोक शाहले हिजो मात्र एक गाडी प्याज भारतबाट ल्याएका छन् । त्यहाँ २५ टन प्याज रहेको छ । भारतले रोक लगाउनुभन्दा अगाडि नै उनले सो प्याज ल्याइसकेका थिए ।

‘मैले एक गाडी प्याज ल्याएको छु’, उनले भने, ‘त्यसले कति दिन पुग्छ र ?’, उनले पनि हप्ताको २५ देखि ३० टनसम्म प्याज बिक्री गर्ने गरेका छन् । नेपालको पूर्वी जिल्लाका तरकारी तथा फलफूलको मुख्य कारोबार हुने गरेको बिर्तामोडको कृषि उपज केन्द्रमा भारतबाट हप्ताको सय टनजति प्याज आउने गरेको कृषि उपज केन्द्र तथा बजार व्यवस्थापन समितिकी बजार संकलक माया राजवंशीले बताईन् ।

नेपालमा आजदेखि प्याजको मूल्य थोकसँगै खुद्रामा पनि बढेको व्यापारीहरुले बताएका छन् । आज खुद्रा सय रुपैयाँ केजी बिक्री भइरहेको कृषि उपज केन्द्रका खुद्रा व्यवसायी भुषण शाहले बताए ।

भारत सरकारले हिजोदेखि प्याजको निर्यातमा रोक लगाएको थियो । काटिएको र पाउडर फर्मबाहेक सबै किसिमका प्याजको निर्यातमा प्रतिबन्ध लगाइएको छ ।

यो कदम घरेलु माग पूरा गर्न र प्याजको मूल्य कम गर्ने उद्देश्यले उठाइएको हो । हाल दिल्लीमा प्याज ३५ देखि ४० भारुमा बिकिरहेको छ । वाणिज्य र उद्योग मन्त्रालयले एक अधिसूचना जारी गर्दै यस्तो आदेश दिएको हो ।

यो प्रतिबन्धको दायरामा बेंगलुरु र कृष्णापुरममा फल्ने प्याज पनि पर्दछन् । अधिसूचनामा लेखिएको छ, ‘प्याजका सबै किसिमको निर्यातमा तत्काल रोक लगाइएको छ ।’