झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्जुनधारा नगर कमिटी झापाले संविधान दिवसको अवसर पारेर सहिद परिवारलाई सम्मान गरेको छ ।

शनिबार नगर कमिटीले पाँचौं संविधान दिवसको अवसरमा सहिद, बेपत्ताका परिवारसहित आन्दोलनका घाईते योद्धालाई सम्मान गरेको हो । देश र जनताको हित तथा अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै संविधान दिवस मनाएको नगर कमिटीका अध्यक्ष प्रेमसागर सापकोटाले जानकारी दिए ।

साथै नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा योगदान दिने योद्धा ३५ जनालाई पनि सम्मानित गरिएको छ ।

१२ जना सहिद परिवारका सदस्य, वेपत्ता परिवारका २ जना र घाइते योद्धाहरु ५ जनालाई सम्मान गरिएको हो । उनीहरुलाई नेकपाका केन्द्रीय कमिटी सदस्य नरेश खरेल, संविधानसभा सदस्य प्रेम गिरी, अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार राना र उपप्रमुख कमला खतिवडालगायतले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा संविधान सदस्य प्रेम गरी, ब्रद्रि ओली, नेकपाका जिल्ला सचिव विजय साम्पाङ, नेकपा केन्द्रीय कमिटी सदस्य नरेश खरेललगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन नगर सचिव राजु शेर्माले गरेका थिए ।