अर्जुनधारा । सहारा नेपाल (साकोस) शनिश्चरे सेवा केन्द्रले एकल महिला तथा एकल पुरुष आफ्ना सदस्यलाई प्रोत्साहन कार्यक्रमअन्तर्गत रकम हस्तान्तरण गरेको छ ।
सेवा केन्द्रको कार्यालय परिसरमा शुक्रबार एक अनौपचारिक कार्यक्रम गरी प्रोत्साहन कार्यक्रमअन्तर्गतको रकम हस्तान्तरण गरेको हो । सेवा केन्द्र सञ्चालन सहयोग समितिका संयोजक शंकर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा मापदण्ड पूरा भएका २८ जनामध्ये १३ जनालाई आज रकम प्रदान गरिएको हो ।
सेवा केन्द्रकी प्रमुख कोपिला बजगाइँका अनुसार एकल महिलालाई ८ हजार र एकल पुरुषलाई ६ हजार संस्थाले बर्सेनि प्रदान गर्दै आएको छ । सेवा केन्द्रका सदस्यमध्ये २८ जना संस्थाको मापदण्डभित्र रहेका छन् । जसमध्ये १३ जनालाई आज रकमबराबरको चेक हस्तान्तरण गरियो ।
यस सेवा केन्द्रअन्तर्गत २७ जना एकल महिला र एक जना एकल पुरुष रहेका छन् । एकल पुरुष ५८ वर्ष नाघेका छन् । बाँकी १५ जना सदस्यलाई कर्मचारीले घरमै पुगेर चेक हस्तान्तरण गरिने सेवा केन्द्रकी प्रमुख बजगाइँले बताइन् । २८ जनामध्ये ४ जना समूहका सदस्य हुन् भने २४ जना सेयर सदस्य हुन् ।
सहारा नेपाल (साकोस)मा अहिलेसम्म ५१० जना एकल महिला, ६ जना एकल पुरुष र २ जना अपांगता भएका व्यक्ति सेयर सदस्य छन् । अपांगता भएका व्यक्तिलाई संस्थाले १० हजार रुपैयाँ उपलब्ध गराउने गरेको छ ।
त्यस्तै, ज्येष्ठ नागरिकतर्फ ६५ वर्षदेखि ७० वर्षका ९८ जनालाई ६ हजार, ७१ वर्षदेखि ८९ वर्षका ६९ जनालाई ८ हजार र ८१ वर्षमाथिका १० जनालाई १० हजारका दरले संस्थाले रकम उपलब्ध गराउने गरेको छ ।
शनिश्चरे सेवा केन्द्रले अर्जुनधारा नगरपालिका, बुद्धशान्ति, रोङ र बिर्तामोडका केही क्षेत्रका बासिन्दालाई सेवा वित्तीय सेवा प्रदान गरिरहेको छ । यस सेवा केन्द्रअन्तर्गत समूहबाट ४१ सय र सेयर सदस्यतर्फ ७७९ जना सदस्य रहेका छन् ।
कार्यक्रममा सञ्चालन समितिका अध्यक्ष सुवेदीले सहारा नेपालले प्रदान गर्ने सेवा सुविधाका बारेमा सदस्यलाई जानकारी गराएका थिए ।