झापा । धान, मकैजस्ता खाद्यान्न उत्पादनमा अग्रणी जिल्ला मानिने झापामा अघिल्लो वर्ष जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयले सिँचाई र तटबन्धनमा ७३ करोडभन्दा बढी रकम खर्च गरेको छ । यद्यपि, १० करोडभन्दा बढी बजेट खर्च हुन सकेन ।

कार्यालयले नयाँ सिँचाइ योजना, पुराना योजनाहरुको स्तरीकरण, मर्मत सम्भार एवम् विभिन्न नदी खोलामा तटबन्धनका लागि उक्त रकम खर्च गरेको हो । आव ०७६/०७७ को प्रगति विवरण अनुसार कुल ८५ करोड ३५ लाख ३५ हजारमध्ये ७३ करोड ९९ लाख २३ हजार रुपैयाँ खर्च भएको छ ।

संघीय सरकारबाट प्राप्त २१ करोड १० लाख ७३ हजारमध्ये १३ करोड ७७ लाख ६४ हजार र प्रदेश सरकारबाट प्राप्त ६३ करोड १५ लाखमध्ये ५८ करोड ४७ लाख ८३ हजार रुपैयाँ खर्च भएको छ भने चालुतर्फ प्राप्त १ करोड ८ लाख ७३ हजारमध्ये एक करोड चार लाख २७ हजार रुपैयाँ खर्च भएको कार्यालय प्रमुख कृष्णप्रसाद राजवंशीले जानकारी दिनु भयो ।

संघबाट प्राप्त बजेटमा ६५.२७ प्रतिशत प्रगति भएको छ भने प्रदेश सरकारबाट प्राप्त बजेटमा ९२.६० प्रतिशत प्रगति भएको छ । समग्रमा पूँजीगततर्फ ८५.८७ प्रतिशत र चालुतर्फ ९५.१२ प्रतिशत प्रगति भएको प्रतिवेदनमा उल्लेख छ ।

कार्यालयले मुख्यतः सिँचाइका क्रमागत योजनामा खर्च गरेको छ भने केही नयाँ आयोजना सम्झौता र केही नयाँ आयोजनाका लागि डीपीआर तयारीमा खर्च गरेको कार्यालय प्रमुख राजवंशीले बताउनु भयो ।

यस्तै, नदी नियन्त्रणका दुईवटा योजना सम्पन्न भएको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका लागि भने अघिल्लो वर्षको तुलनामा आधा बजेट प्राप्त भएको पनि प्रमुख राजवंशीले जानकारी दिनुभयो ।