प्रकाश नेपाल,
इलाम । ट्राफिक, व्यवसाय र सार्वजनिक स्वास्थ्य लगायतका सुचना सार्वजनिक गर्न इलामको चोक बजारमा ठूलो एलइडी डिस्प्ले राखिएको छ । पहिलो पटक नगरपालिकाले २९ लाख रुपैयाँ खर्चेर राखेको टेलिभिजन हेर्दा सबै मक्ख देखिन्छन् ।
१६ फीट लम्बाई र १० फूट चौडाइ भएको ठूलो टेलिभिजन सेट मार्फत इलाम चोक बजारमा पर्यटन सम्बन्धि सुचना प्रवाह भइरहेको छ । इलाम नगरपालिकाका विभिन्न सुचना, पर्यटकहरुलाई पर्यटन क्षेत्रको जानकारी दिने, र सार्वजनिक स्वास्थ्य सम्बन्धि सुचना प्रवाह गर्नका लागि एल इ डी डिस्प्ले जडान गरिएको नगर प्रमुख महेश बस्नेत बताउनुहुन्छ ।
यसवाहेक नगरमा भएका सभा समारोहको प्रत्यक्ष प्रशारण गर्ने र विभिन्न नीजि तथा व्यापारिक क्षेत्रका विज्ञापन प्रसारण गर्ने नगरको योजना छ । गत असोज मसान्तमा निर्माण सकिएको एल इ डी डिस्प्ले जडानमा इलाम नगर पालिकाले करिव २९ लाख खर्च गरेको छ ।
एल इ डी सेटको कन्ट्रोल इलाम नगर कार्यपालिका कार्यालय र गौतम बुद्ध सभा गृहबाट गर्न सकिने छ । इलाम चोक बजार, सभा गृह र नगरमा भएका गतिविधिको प्रत्यक्ष प्रसारण र विज्ञापन मार्फत मुनाफा आर्जन गर्ने नगरको योजना गरेको छ ।
इलामका पर्यटन व्यवसायीहरु भने पर्यटकहरुलाई सुचना प्रबाह हुने किसिमका सामाग्री यो डिसप्ले बाट प्रसारण भए मात्र यस्को महत्ब झल्कने बताउछन् । डिस्प्लेबाट जिल्लाका पर्यटकीय क्षेत्रहरुको प्रचार गरेर पर्यटहरुलाई आकर्षित गर्न सकेमात्र डिसप्लेको महत्व हुने पर्यटन ब्यबसायी बिजय राईको भनाई छ ।
इलाम सदरमुकाममा जडान भएको एल इ डी डिस्प्ले जडानले पर्यटकीय क्षेत्रबारे जानकारी लिन दिन सहज भएको छ । यस किसिमका डिस्प्ले जिल्लाका अन्य पालिकाका समेत राखेको खण्डमा इलाम घुम्न आउने पर्यटकहरुलाई थप सहज हुने देखिन्छ ।