झापा । प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दैछ । एक सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागिएको कांग्रेसले जनाएको छ ।

कांग्रेसकाअनुसार हरेक सङ्घीय निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा हुनेछ । विभिन्न निर्वाचन क्षेत्रमा दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर थिमिमा आयोजना हुने सभालाई सम्बोधन गर्नुहुने भएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा हुने सभालाई सम्बोधन गर्नुहुनेछ ।

महामन्त्री डा शशांक कोइरालाले नवलपुरमा, प्रकाशमान सिंहले बानेश्वरमा, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वरमा र गगन थापाले नेपालगञ्जमा हुने सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

यता झापामा पनि कांग्रेसले प्रदर्शनको तयारी गरेको छ । जिल्लाका पाँचवटै क्षेत्रमा विरोध प्रदर्शन र सभा गरिने जिल्ला सभापति उद्धव थापाले बताए । क्षेत्र नं १ मा पूर्वमन्त्री एवं केन्द्रीय सदस्य सरिता प्रसाई, २ मा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, ३ मा केन्द्रीय सदस्य भारतेन्दुकुमार मल्लिक, ४ मा पूर्वमन्त्री एवं केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी र ५ मा पूर्वमन्त्री एवं केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले संबोधन गर्ने कार्यक्रम रहेको छ ।

क्षेत्रगत रुपमा क्षेत्र नं १ को धुलाबारी, २ को शनिश्चरे, ३ को बनियानी, ४ को दुधे बजार र ५ को दमकको गणतन्त्र चोकमा कार्यक्रम गरिने जिल्ला सभापति थापाले जानकारी दिए ।