झापा । झापा मेचीनगर १५ ज्यामिरगढीस्थित पराजुली बायोमास ब्रिकेट फ्याक्ट्रीमा लागेको भीषण आगलागीबाट करोडौंको क्षति भएको छ ।
निलकोठी भन्ने ठाउँमा रहेको ब्रिकेट फ्याक्ट्रीमा लागेको आगोबाट १० देखि १२ करोडसम्म क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट एउटा पूरै युनिट जलेर नष्ट भएको छ । आगलागीबाट फ्याक्ट्री, त्यहाँ रहेको मेशिन, ट्रयाक्टर, जेसीबी, कच्चा पदार्थ, तयारी कोइलालगायतका वस्तु जलेर नष्ट भएको संचालक आदित्य पराजुलीले बताए ।
आगलागीबाट ब्रिकेट बनाउन स्टक राखिएको ५० लाख केजी कच्चा पदार्थ जलेर नष्ट भएको उनले जानकारी दिए । सोमबार बिहान ३ बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आइसकेको छैन ।
आगो निभाउन मेचीनगर, बिर्तामोड, भद्रपुर, कमल, दमक गरी जिल्लाका पाँच तथा उर्लाबारी र कानेपोखरीको गरी ७ वटा दमकल परिचालन गरिएका छन् । त्यस्तै स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणको प्रयास जारी रहे पनि अझै निभाउन नसकिएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक विकास राईले बताए ।
उनले प्रज्वलनशील वस्तु भएकाले सजिलै निभाउन नसकिरहेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले ७ वटा दमकलसँगै स्थानीयको सहयोगसहित ठूलो सँख्यामा प्रहरी परिचालन गर्दा पनि आगो पूर्ण रुपमा निभाउन नसकिएको बताए ।
उनले आगो नियन्त्रणमा लिन यति नै समय लाग्ने भनेर यकिन गर्न नसकिने जानकारी दिए । बिर्तामोड नगरपालिकाका दमकल इन्चार्ज चन्द्रबहादुर पौडेलले आफूहरु विहानैदेखि लगातार खटिरहेपनि आगो निभाउन नसकिरहेको बताए । कुनै दमकलले बाहिरबाट र कुनै दमकलले भित्रपट्टीको आगो निभाउने प्रयास गरिरहेको उनले जानकारी दिए ।
उद्योगी चण्डी पराजुली र उनका छोरा आदित्य पराजुलीले संचालन गरेको सो उद्योगमा बिद्युत सर्ट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ । करिव तीन वर्षअघि सो फ्याक्ट्री स्थापना गरिएको हो । फ्याक्ट्री डेढ विगाह क्षेत्रफलमा फैलिएको छ ।