झापा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश १ का तीन ठुला सरकारी अस्पतालमा आईसीयु, भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा ट्याङ्क निर्माणका लागि ३४ करोड ६० लाख रुपैयाँ निकासा गरेको छ ।

सम्बन्धित अस्पतालका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि १८ करोड ८० लाख, कोशी अस्पताल विराटनगरका लागि ६ करोड ८० लाख र मेची अस्पतालका लागि ९ करोड रुपैयाँ निकासा भएको हो । तर, सरकारले आर्थिक वर्ष सकिन लाग्दा बजेट निकास गरेकाले समयसीमाभित्रै आवश्यक उपकरण खरिद गर्न नसकेको खण्डमा बजेट फ्रिज हुने सम्भावना बढाएको छ ।

केही अस्पतालले त महामारीको समयमा मुलुकबाहिरबाट आवश्यक स्वास्थ्य सामग्री खरिद गर्नुपर्ने भएकाले प्रक्रिया लम्बिने भन्दै सरकारले नै स्वास्थ्य सामग्री उपलब्ध गराइदिनुपर्ने माग गरेका छन् ।

उनीहरुले महामारीको समयमा मुलुक बाहिरबाट स्वास्थ्य सामग्री खरिद गर्न निकै समस्या हुने भएकाले सरकारलाई नै ‘जीटुजी’मार्फत सामग्री खरिद गरेर उपलब्ध गराइदिन आग्रह गरेका हुन् ।

सरकारले कोशी अस्पताल, मेची प्रादेशिक अस्पताल र स्वास्थ्य विश्वविद्यालय रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामग्री खरिदका लागि रकम निकासा गरेको हो । यी तीनवटै अस्पतालले विशेष कोरोना अस्पताल सञ्चालन गरी संक्रमितको उपचार गर्दै आएका छन् ।