काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाको अदालतको आदेशको बलमा प्रधानमन्त्री बन्ने योजनामा तत्कालका लागि ब्रेक लागेको छ ।

उनले सर्वोच्च अदालतको अन्तरिम आदेशको बलमा संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री बन्ने चाहना राखे पनि त्यो तत्काल पूरा नभएको हो ।

सर्वोच्चको संवैधानिक इजलासले बुधबार देउवासहितका १४६ सांसदको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गरेर अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै देउवाको तत्काल प्रधानमन्त्री बन्ने योजनामा ब्रेक लागेको हो ।

जेठ ७ गते गते देउवाले संविधानको धारा ७६(५) अनुसार बहुमत सदस्यको प्रधानमन्त्रीमा दावी गर्दै राष्ट्रपतिसमक्ष प्रस्ताव पेश गरेका थिए । तर, राष्ट्रपतिले त्यसलाई मान्यता दिएकी थिइनन् ।

बरु राष्ट्रपतिले नयाँ सरकार बन्न नसकेको भन्दै जेठ ७ गते मध्यराति प्रधानमन्त्री ओलीको सिफारिसमा प्रतिनिधिसभा भंग गरिदिएकी थिइन् । उक्त घोषणा असंवैधानिक भन्दै काँग्रेस, माओवादी, एमालेको माधव नेपाल र जसपाको उपेन्द्र यादव समूहसहितको विपक्षी गठबन्धन अदालत पुगेको थियो ।

देउवासहितका सांसदहरुको रिटमा काँग्रेस सभापति शेरबहादुर देउवालाई परमादेश मार्फत प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरिएको थियो ।