अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८/०७९को लागि अनुमानित ४३ करोड २६ लाख तीन हजार दुई सय ३० रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ ।

बिहीबारदेखि सुरु भएको नगरको नवौं नगर सभामा उपमेयर तथा बजेट तर्जुमा समितिकी संयोजक कमला खतिवडा आचार्यले वार्षिक बजेट, नीति तथा कार्यक्रम पेश गरेकी हुन् ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षता र प्रदेश नं. १ का सांसद् वृख प्रधानको प्रमुख आतिथ्यमा आयोजित सभामा उपप्रमुख आचार्यले पेश गरेको उक्त बजेटमध्ये चालु खर्चतर्फ २० करोड ४१ लाख तीन हजार दुई सय ३० रुपैयाँ र पूँजीगत खर्चतर्फ २२ करोड ७० लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।

उक्त बजेटको स्रोत अन्तर्गत संघीय सरकारबाट समानिकरण अनुदान १७ करोड ९५ लाख रुपैयाँ, राजश्व बाँडफाँड मूल्य अभिवृद्धी कर पाँच करोड १३ लाख ९२ हजार पाँच सय रुपैयाँ, राजश्व बाँडफाँड अन्त शुल्क पाँच करोड १३ लाख ९२ हजार पाँच सय रुपैयाँ अनुमान गरिएको छ ।

त्यसैगरी प्रदेश सरकारबाट समानिकरण अनुदान एक करोड छ लाख ७५ हजार रुपैयाँ, राजश्व बाँडफाँड सवारी कर एक करोड ५६ लाख ४३ हजार दुई सय ३० रुपैयाँ, राजश्व बाँडफाँड रजिष्ट्रेशन शुल्क तीन करोड रुपैयाँ, राजश्व बाँडफाँड ढुङ्गा, गिटी, बालुवा तीन करोड रुपैयाँ, आन्तरिक स्रोत पाँच करोड ५० लाख रुपैयाँ र मौज्दात ९० लाख रुपैयाँ अनुमान गरिएको छ ।

उक्त विनियोजित बजेट संघीय सरकार र प्रदेश सरकारबाट अपेक्षित सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानबाहेक भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । तीनवटै अनुदानअन्तर्गत ३२ करोड २६ लाख लाख पचास हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको प्रतिवेदनमा उल्लेख छ ।

जसअनुसार संघीय सरकारबाट सशर्त अनुदान २५ करोड १५ लाख रुपैयाँ, विशेष अनुदान तीन करोड ३३ लाख रुपैयाँ, समपूरक अनुदान एक करोड २८ लाख रुपैयाँ, प्रदेश सरकारबाट सशर्त अनुदान एक करोड ५० लाख ५० हजार रुपैयाँ र समपूरक अनुदान एक करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ ।

प्रदेश सांसद प्रधानले आफ्ना भनाइसहित शुभकामना व्यक्त गरेको नगर सभा यही असार १५ गतेसम्मका लागि स्थगित गरिएको नगर प्रमुख प्रमुख रानाले घोषणा गरेका छन् ।