बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले कडा सुरक्षा घेराभित्र नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ ।
ठेक्का विवादका कारण युवाहरुको समूहले नगरसभामा अवरोध गर्ने चेतावनी दिएपछि नगरपालिकामा ठूलो संख्यामा सशस्त्र तथा नेपाल प्रहरी तैनाथ गरिएको थियो ।
सातौँ नगरसभामा नगर उपप्रमुख पवित्रादेवी महतरा प्रसाईले आगामी आर्थिक बर्ष ०७८–८९ का लागि १ अर्ब ३० करोड ७७ लाख ९५ हजार ५ सयको बजेट प्रस्तुत गरिन् । बजेटमा पूर्वाधार विकासमा ५६ करोड १४ लाख ५० हजार, आर्थिक विकासमा २८ करोड २७ लाख, समाजिक विकासमा ३८ करोड २ लाख १४ हजार ५००, वातावरण तथा विपद व्यवस्थापनमा ७५ लाख ५० हजार र सार्वजनिक सेवा तथा क्षमता विकास (प्रशासनिक चालू खर्च समेत) मा ३२ करोड ९८ लाख १५ हजार बजेट विनियोजन गरिएको छ ।
युवाहरुका प्रतिनिधि र नगरपालिका बीच भएको छलफलमा नगर उपप्रमुखको संयोजकत्वमा युवाहरुको समेत प्रतिनिधि संलग्न छानबिन समिति बनाएर छानबिन गर्ने र प्रक्रिया सङ्गत नभए ठेक्का सम्झौता खारेज गर्ने सहमति भए पश्चात एकघण्टा ढिलो गरि सभा सुरु भएको थियो ।