काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलनरत कर्मचारीहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी सङ्गठनका अध्यक्ष मीनप्रसाद खनालले नेपालमा युरोपेली युनियनले व्यापार गर्ने लक्ष्य राखेको र व्यापारीहरूको साठगाँठमा नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने चलखेल भएकाले संस्था जोगाउनका लागि कर्मचारीहरू आन्दोलनमा उत्रन बाध्य भएको बताए ।
माग पुरा नभए अन्तर्राष्ट्रिय उडान बन्द गर्ने अवस्थासम्म पुग्ने चेतावनी लोकतान्त्रिक कर्मचारी सङ्घ, नेपाल नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष लक्ष्मण कुमार गिरीले दिए ।
‘स्वार्थ समूहको दबाबमा प्राधिकरणलाई टुक्र्याउने गरी आएका यी विधेयक फिर्ता लिइनुपर्छ । नत्र हाम्रो आन्दोलन जारी रहनेछ । पहिले दैनिक १ घण्टाका दरले घरेलु उडान ठप्प पर्छौँ र त्यति गर्दा पनि माग सम्बोधन नभए हामी अन्तर्राष्ट्रिय उडान नै ठप्प पार्नुपर्ने अवस्थासम्म पुग्नसक्छौँ,’ उनले भने ।
राष्ट्रिय सभाबाट पारित भइसकेको यो विधेयक अहिले प्रतिनिधिसभामा पेस भएको छ । त्यसयता, सोमबारदेखि विधेयक फिर्ताको माग गर्दै कर्मचारीहरू आन्दोलनमा छन् ।
प्राधिकरणलाई टुक्राउँदा खर्च बढ्ने, दुईवटा संस्थाले सञ्चालन गर्न उठाउन हवाई भाडा बढाउने, नियमन निकाय कमजोर भएर मुनाफाखोरी बढ्न जाने लगायत समस्या देखिने उनीहरूको दाबी छ ।