झापा । प्रदेश नम्बर १ का उद्योगी-व्यवसायीहरूले पूर्वी काँकडभिट्टा नाकालाई सहज बनाउन आग्रह गदै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर १ का अध्यक्ष टिकाराज ढकालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको उद्योगी-व्यवसायीहरूको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनामार्फत प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्री परिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा काँकडभिट्टाबाट नेपाल आउन चाहने भारतीय व्यवसायी, पर्यटक, कामदार, बिरामीलाई पीसीआर रिपोर्ट वा खोप कार्डको आधारमा सहजताका साथ नेपाल आउने व्यवस्था मिलाइदिन माग गरिएको छ ।
मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले कोरोनाका कारण लामो समयदेखि लकडाउनले बन्द भएको नाकाका कारण नेपाली आर्थिक क्षेत्रले ठूलो नोक्सानी खेप्दै आएको भन्दै उद्योगी-व्यवसायीले कोरोनासँगै दैनिकीलाई पनि सहजतातर्फ अग्रसर गराउन अघि बढ्नुपर्ने बताउनुभयो ।
यसैबिच झापाका उद्योगी-व्यवसायीका सङ्घसंस्थाहरूले उद्योगी-व्यवसायीहरूका लागि कोभिड १९ विरुद्धको १० हजार खोपसमेत माग गरेका छन् । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले उद्योगी-व्यवसायीका मागसहितको ज्ञापन पत्र तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाउने आश्वासन दिएको मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले बताउनुभयो ।