इलाम । कोरोनाको माहामारी तीब्र भएपछि बन्द गरिएको इलामको पर्यटकीय स्थल श्रीअन्तु खुला भएको छ ।

श्रीअन्तु बिहीबारदेखि पर्यटकका लागि खुला गरिएपछि पर्यटक आउन थालेको स्थानीय रुद्र घिमिरेले जानकारी दिए ।

अहिले कोरोनाको जोखिम कायमै रहेकाले अन्तुमा रहेका व्यावसायिक संघसंस्था, प्रहरी र स्थानीयले आचारसंहिता बनाएका छन् ।

होटल तथा होम-स्टेलाई दैनिक निसंक्रमण गर्ने, अन्तुमा आउने पर्यटकलाई स्वास्थ्य मापदण्ड पालना गराउने, कुनै क्षेत्रमा कोरोनाको संक्रमण बढेमा सम्बन्धित क्षेत्र सिल गर्ने, होटल तथा होम-स्टेमा थर्मल गन अनिवार्य गर्ने, मनोरञ्जनका लागि राति नौ बजेसम्म मात्रै बाजागाजा बजाउने उल्लेख छ ।

नेपालमा कोरोनाको संक्रमण सुरु भएपछि अन्तुमा पर्यटक आवागमन ठप्प छ । गत वैशाखअघि केही समय अन्तु पर्यटकका लागि खुला गरिएको थियो । तर, निषेधाज्ञा जारी भएपछि बन्द गरिएको थियो ।

अन्तुमा ३८ वटा होटल तथा कटेज सञ्चालनमा छन् । यसैगरी, अन्तुको ६४ घरमा होम-स्टे सञ्चालनमा छन् ।