पाँचथर । पाँचथरका कृषकहरु मुलाखेतीतर्फ आकर्षित भएका छन् ।
उच्च पहाडका पाखाभित्तामा लगाएको मुला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक मुला खेतीतर्फ आकर्षित भएका हुन् ।
खेती लगाएको दुई महिनामै उत्पादन हुने र राम्रो मूल्य पाउने भएपछि मुला खेती गर्ने कृषकको संख्या बढेको हो ।
जिल्लाको फिदिम नगरपालिकाको पौवाभञ्याङ, रानीटार र फाल्गुनन्द गाँउपालिकाको पौवासारतापमा मुलाखेती गर्ने कृषकको संख्या बढ्दै गएको छ ।
कम खर्च, कम समय र कम परिश्रममा मुला खेतीबाट राम्रो आम्दानी हुने गरेको कृषकको भनाइ छ ।
मुला खेतीबाट २ महिनामै ५० हजारदेखि ५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको पनि कृषकहरुले बताएका छन् ।
यहाँको मुला बारीबाटै १५ देखि २५ रुपैया प्रति किलोमा बिक्री हुने गरेको छ भने मुलाको मुख्य बजार भारतको सिलिगुडी हो ।