इलाम । कोभिड १९ को असरले थलिएको पर्यटन व्यवसाय प्रवर्द्धनका लागि सरोकारवालाहरूले आग्रह गरेका छन् । अघिल्लो वर्ष पनि कोरोनाका कारण व्यवसाय ठप्प हुँदा ठूलो नोक्सानी व्यहोर्नुपर्ने गुनासो गरेका व्यवसायीले सरकारले विशेष राहत प्याकेज ल्याएर सघाउनुपर्नेमा जोड दिए ।

कोरोनाले जिल्लाका सानाठूला होटल व्यवसायी, यातायात व्यवसायी, पर्यटक लक्षित व्यवसाय सञ्चालन गर्नेहरू नराम्ररी प्रभावित भएका छन् । प्रभावित व्यवसायीलाई सहुलियत ब्याजमा बैंक कर्जा उपलब्ध गराउनुपर्ने, किस्ताको अवधि बढाउनुपर्ने जस्ता माग व्यवसायीका छन् ।

उनीहरूले कोरोना रोकथामका उपायलाई कडाइका साथ अघि बढाउँदै व्यवसाय सञ्चालन बढाउन पहल गर्नुपर्ने धारणा राखे । ‘कन्याम, अन्तुलगायत क्षेत्रमा सम्भावना देखिएपछि केही वर्षदेखि ठूलो लगानीमा होटल सञ्चालनमा छन्,’ कन्यामका मोहन कागतेले भने, ‘तर कोरोनाले व्यवसायीलाई ब्याजसम्म तिर्न नसक्ने अवस्थामा पुर्‍याएको छ ।’

उनले सहज अवस्थामा पनि धेरै आन्तरिक पर्यटक कन्याम, फिक्कलको बाटोबाट दार्जिलिङ र सिक्किम जाने गरेकाले त्यस क्षेत्रमा खास प्रभाव नपरेको धारणा राखे । अन्तुका धनञ्जय दुलालले अन्तु प्रवेशमा गरेको कडाइले त्यस क्षेत्रका सयभन्दा धेरै होटल र होमस्टे प्रभावित भएको बताए ।

सिद्धि खोलामा प्रहरीले कडाइ गरेको भन्दै व्यवसायीले ठूलै पहल गर्दा मात्र केही दिनदेखि सहज भएको उनले जनाए । सन्दकपुर क्षेत्रको पर्यटनमा ठूलो प्रभाव परेको उल्लेख गर्दै व्यवसायी छिरिङ शेर्पाले नेपालतर्फबाट बर्खायाममा क्षतिग्रस्त भएको सडकलाई सहज बनाउँदै पर्यटकलाई सहजता दिनुपर्ने बताए । यातायात व्यवसायी ग्रिष्म सुब्बाले सरकारले कर छुट गर्नुको सट्टा उल्टो जरिवाना लगाएर व्यवसायीलाई निरुत्साहित बनाएको अनुभव सुनाए ।

विश्व पर्यटन दिवसको अवसरमा इलाम नगरपालिकाको पर्यटन प्रवर्द्धन समितिले आयोजना गरेको कार्यक्रममा इलाम नगरपालिकाका मेयर महेश बस्नेतले कोभिड १९ बाट धराशायी बनेको व्यवसायलाई उकास्न अन्तरपालिकाबीच सहकार्य गरेर अघि बढ्नुपर्ने विकल्प दिए ।

‘स्थानीय सरकारले क्षमताले भ्याएसम्म छुटका कार्यक्रम ल्याएका छौं,’ उनले थपे, ‘अब पर्यटक आवागमन बढाउँदै अन्य पालिकासँग समन्वय गरेर धेरै पर्यटक भित्र्याउनुपर्छ ।’ इकान्तिपुरबाट