झापा । असोज महिनाको अन्तिम सातामा आएको हावापानीले झापामा ५ हजार हेक्टरभन्दा बढी धानबालीमा क्षति पुर्याएको छ ।

 

बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण शनिबार रातिदेखि हावासहितको वर्षा भइरहेको छ । बेमौसममा भएको हावासहितको वर्षाले झापामा ५ हजार हेक्टरभन्दा बढी धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 

खासगरी पसाउन लागेको र पाक्न लागेको अगुवा धानमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले बताए । ‘धेरै ठाउँमा क्षति भएको सुनेर जिल्लाका पालिकाहरुमा बुझ्ने काम हुँदैछ’, उनले भने, ‘सबैतिरको रिपोर्ट आइसकेपछि क्षतिको बारेमा यकिन तथ्यांक निकाल्न सकिन्छ ।’

 

मलिलो खेतको बोट अग्लो भएको धानलाई हावापानीले लडाएको हो । मन्सुली, रंजित, आरपिजस्ता धानमा बढी क्षति पुगेको कृषि अर्थविज्ञ भट्टराईले जानकारी दिए ।

 

लहलह पसाउने बेलामा धान ढालेपछि कृषकहरु चिन्तित भएका छन् । बिर्तामोड ९ का किसान माधव न्यौपानेले आफ्नो ७ कठ्ठा क्षेत्रफलको धान ढलेर सखाप भएको बताए । भात खान राम्रो हुने र बोट अलि अग्लो हुने आरपि जातको धान पसाउँदै गरेको बेलामा बेमौसमी हावापानीले ढालेको उनले बताए ।