झापा । पूर्वका चिया श्रमिकहरु आन्दोलनमा उत्रिएको एक महिना भन्दा बढी भइसकेको छ । श्रम कानूनसम्मत ज्याला पाउनु पर्ने माग गरिरहेका उनीहरुको आवाज न सरकारले सुनेको छ, न चिया बगान र उद्योगका मालिकहरुले नै । जसका कारण बालबच्चा पढाउन र दैनिक छाँक टार्न समस्या परिरहे पनि उनीहरु वैशाखको टन्टलापुर घाममा तरतरी पसिना चुहाउँदै सडकमै उत्रिएका छन् । मंगलबार पनि उनीहरुले बिर्तामोडको मुक्तिचोकको सडकमा सुतेरै विरोध प्रदर्शन गरे ।

राजपत्रमा उल्लेख भएअनुसार ज्याला नपाएको भन्दै पूर्वका चिया मजदुर लामो समयदेखि आन्दोलित छन् । गत चैत १७ गतेदेखि चिया बगान, उद्योग तथा प्रतिष्ठानको काम छोडेर चरणबद्ध आन्दोलनमा उत्रिए पनि ३८ दिन बितिसक्दा समेत उनिहरुको माग सम्बोधन भएको छैन । झापामा करिब २६ चिया प्रशोधन उद्योग र ७० भन्दा बढीको संख्यामा बगान छन् ।

बगानमा करिब ३६ हजारको हाराहारीमा चिया श्रमिक काम गर्छन् । यी बगानका श्रमिकहरू काम नै ठप्प पारेर आन्दोलनमा होमिएका छन् । ‘बच्चालाई विद्यालयमा भर्ना गर्न पाएका छौनौँ’ गीता माझीले भनिन्, ‘उद्योगीले त हाम्रो माग सुनेन सुनेन सरकारले चाँही हाम्रो दुःख किन नदेखेको ?’

उनले एकमहिना भन्दा बढी काम नगरेका कारण हातमुख जोड्नै समस्या भइरेको दुखेसो पोखिन् । इलाम कन्यामकी मैया तामाङले सरकारले लागु गरेको कानुन आफुहरुले उद्योगीलाई कार्यान्वय गराउन माग गर्दा भन्दा आफुहरु समस्यामा परेको भन्दै सरकारलाई प्रश्न गरिन्,—‘अब हामी भोकै मर्नु ?’

सरकारले गत साउन १ देखि लागू हुने गरी बगानमा काम गर्ने चिया श्रमिकको न्यूनतम दैनिक ज्याला ३ सय ८५ रुपैयाँ तोके पनि श्रमिकले २ सय ६५ रुपैयाँ मात्र पाउँदै आएका छन् । राजपत्रमा श्रमिकको न्यूनतम मासिक ज्याला छ हजार ४ सय ६९ रुपैयाँ र महङ्गी भत्ता चार हजार ३ सय ८१ रुपैयाँ तोकिएको छ ।

तर, कुनै प्रावधान पनि कार्यान्वयनमा आएको छैन । ज्याला मात्र नभई श्रम ऐन–२०७४, श्रम नियमावली–२०७५, सामाजिक सुरक्षा ऐन समेत कार्यान्वयनमा ल्याउनु पर्ने माग मजदुर नेताहरुको छ । ‘मजदुरका लागि हामीले लामो समय लड्यौँ’ अखिल नेपाल चिया मजदुर संगठनकी केन्द्रिय अध्यक्ष सीता सापकोटाले भनिन्, ‘यो उद्योगीलाई कानुन कार्यान्वयन गराउने लडाई भएकाले अझैँ कडा आन्दोलन गर्दैछौँ ।’

यता, चिया उद्योगी भने चिया क्षेत्रमा उत्पन्न श्रम समस्याको व्यावहारिक समाधान खोज्न सरकार उदासिन भएको जिकिर गर्छन् । सरकारले तोकेको ज्याला दिँदा लागत बढ्ने र व्यवसाय घाटामा जाने भएकाले श्रमिकलाई सरकारले तोके जति ज्याला दिन नसकिने नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश कुमार मित्तल बताउँछन् ।

चियाको पहिलो मुना (फस्ट फ्लस) टिप्ने सिजनमा आन्दोलन भएपछि चिया उद्योगमा एक महिनाभित्र ५० करोड बढीको क्षति भइसकेको चिया उद्योगीहरु बताउँछन् । पूर्वको झापा, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा लगायतका दर्जन जिल्लामा सञ्चालित चिया बगान र कारखानामा ५० हजार भन्दा बढी मजदुरहरु कार्यरत छन् । नेपाल चिया बिकास बोर्डको तथ्याङ्क अनुुसार २८ हजार पाँच सय ९५ हेक्टर क्षेत्रफलमा चियाखेती हुुन्छ ।