बिर्तामोड । झापाको बिर्तामोड ४ मा प्रमुख कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले सेवा केन्द्रगत वार्षिक साधारणसभा गर्ने भएको छ । संस्थाले शुक्रबार बिर्तामोडमा ९औं वार्षिक साधारणसभाको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै संस्थाले कार्यक्रमका विषयमा जानकारी दिएको हो ।
संस्थाले सेवा केन्द्रगत वार्षिक साधारणसभा भने मंसिर ११ गते शनिबार चैतुबारीबाट सुरु गर्ने भएको छ । मंसिर १८ गते दुर्गापुरमा सेवाकेन्द्र केन्द्रगत साधारणसभा टुंगिनेछ । संस्थाको अन्तिम माइन्यूट साधारणसभा भने मंसिर २४ गते बिर्तामोडमा हुनेछ ।
कार्यक्रममा संस्थाले शिक्षालाई प्राथमिकता राखेर विविध कार्यक्रमहरु सार्वजनिक गरेको छ । संस्थाले शिक्षाको साथ सदस्य उपचारमा राहत, रगतको खाँचो शिक्षाको साँचो, सर्पको टोकाई, शिक्षाको दवाई, बालबालिकाको हात शिक्षाको साथ, शिक्षाको अभिभावकत्व समुदायप्रतिको दायित्व शीर्षकमा विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
संस्थाले शिक्षाको अभिभावकत्व समुदायप्रतिको दायित्वअन्तरगत सरकारी बिद्यालयमा अध्ययनरत ५ जना बालबालिको दायित्व साथै शैक्षिक विकासमा सघाउने, त्यसैगरी ल्यापटपमा सहुलियत कर्जा अन्तर्गत उच्च शिक्षा अध्ययनरत सदस्यका छोराछोरीलाई ल्यापटप खरिदका लागि १० प्रतिशत ब्याजदरमा एक वर्षे कर्जा उपलब्ध गराउने संस्थाका अध्यक्ष सुव्रत न्यौपानेले जानकारी दिए ।
संस्थाले संस्थाका इच्छुक सदस्यद्वरा नेत्रहीन विद्यार्थीका लागि ५ रुपैयाँ अभियान सञ्चालन गरेर वर्षभरि जम्मा भएको उक्त रकम र संस्थाबाट त्यति नै रकम थपेर नेत्रहीन विद्यार्थीलाई प्रदान गरिने अध्यक्ष न्यौपानेले बताए । बाल क्लव सहयोग अन्तर्गत झापाका सरकारी तथा निजी विद्यालयका बाल क्लबहरुले संस्थामा कम्तिमा ३ वर्षे खाता खोलेर बचत गरेको अवस्थामा शुरुमा खाता खोल्दाको बचत रकममा २५ प्रतिशत रकम संस्थाले थप गरिदिने जनाइएको छ ।
संस्थाले तोकेको शेयरबृद्धि योजनामा सहभागी, सामाजिक संस्कार राहतकोषमा योगदान र नियमित कारोबार गरिरहेका महिला सदस्यलाई प्रसुति सहायताबापत १५ हजार रुपैयाँ २ पटकसम्म पाउने साथै पुरुष सदस्यले मातृशिशु स्यहारका लागि प्रसुति सहायताको आधा रकम पाउने बताइएको छ ।
त्यसैगरी संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत पिसिआर परीक्षणमा सहयोग, झापा नाटकघरलाई सहयोग, हात्ती पीडितलाई सहयोग, कर्मचारी परिवार सहयोग, बालक सहयोग, उपचार सहयोग, स्वास्थ्य सामग्री सहयोग र कोरोना संक्रमितलाई पोषण साथै उपचारमा २ लाखसम्म खर्च व्यर्होने नीति लिएको जनाएको छ । यही शीर्षकमा संस्थाले आर्थिक सहयोग समेत प्रदान गरिसकेको छ ।
आर्थिक वर्ष २०७७/०७८ सम्ममा ३ हजार ८०८ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी २ करोड ६९ लाख ९८ हजार ७ सय रुपैयाँ रहेको छ । संस्थाको कोष हिसाब १ करोड ३७ लाख ८४ हजार २७५ रुपैया ६ पैसा, लगानीमा रहेको ऋण १६ करोड ९२ लाख ५० हजार ३०५ रुपैयाँ ७२ पैसा, बचत संकलन १४ करोड ५० लाख ८३ हजार ६०७ रुपैयाँ १७ पैसा रहेको छ ।
त्यस्तै संस्थाले करअघि २४ लाख ९९ हजार ५६८ रुपैयाँ ५५ पैसा नाफा गर्न सफल भएको कार्यक्रममा वितरित प्रेस नोटमा उल्लेख छ ।
संस्थाले ब्याज तथा हर्जना छुट र कर्जा मिनाह समेत गरेको अध्यक्ष न्यौपानेले बताए । प्रतिवेदन कार्यक्रममा संस्थाका सल्लाहकार सदस्य सावित्रा लिम्बु, तेजमणि प्रसाई, संस्थाका सञ्चालक समिति सदस्य हेमराज मिश्र, लेखा समिति संयोजक युवराज निरौला, निर्वाचन समितिका सदस्य लीला बराललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिपेश धौरालीले गरेका थिए । संस्थाले सेवा केन्द्रगत बार्षिक साधारणसभा गर्ने जनाइएको छ ।