झापा । कुरिलो भन्ने वनस्पतिको पनि सब्जी हुन्छ रे भन्ने मात्र सुनेकी कनकाई नगरपालिका ६ की ३८ वर्षीय सविता खनालको राम्रो आम्दानीको स्रोत बनेको छ यतिबेला कुरिलो खेती ।
उनले गतवर्ष पाँच कठ्ठा जमिनमा लगाएको कुरिलो खेतीबाट तीन लाख ५० हजार आम्दानी भएको बताइन् । उनी भन्छिन्, “कस्तो हुँदोरहेछ भनेर थोरै खेती गरेका थियौं, आम्दानी त गज्जब भयो ।” उनले यसवर्ष एक विगाह जमिनमा व्यावसायिक रुपमा कुरिलो खती विस्तार गर्ने गरी बेर्ना उमारिरहेकी छिन् । छ महिनाजति प्लाष्टिकको थुँगामा उमारेर हुर्काएको विरुवा रोपेको तीन महिनादेखि नै आम्दानी हुने गरेको उनको अनुभव छ ।
गतवर्ष लोकल जातको (मेरी वासिङटन) कुरिलोको बेर्ना लगाउनु भएको उनले यसवर्ष हाइव्रिड जातको कुरिलोको बेर्ना हुर्कारहेकी छिन् । उनले १० ग्राम हाइव्रिड जातको कुरिलोको विउको मूल्य चार हजार पर्ने बताइन् । कृषि कर्ममा श्रीमान दधिराम न्यौपानेको दरिलो साथ पाएकी उनले गतवर्ष प्रतिकेजी तीन सयदेखि एक हजार २०० होलसेलमा कुरिलोको टुसा विक्री गरेको बताइन् ।
यस्तै, कोरोनाका कारण व्यापार व्यवसाय बन्द भएपछि दमक नगरपालिका ३ मा दुईजना युवा मिलेर कुरिलो खेती सुरु गरे । उनीहरुले एग्रो फर्म प्रालि कम्पनी नै दर्ता गरेर व्यावसायिक रुपमा १० कठ्ठामा कुरिलो खेती लगाएका हुन् ।

नारायण योङहाङ, याम भण्डारीको संयुक्त लगानीमा सुरु गरेको फार्मले बेर्ना लगाएको सात महिनादेखि नै आम्दानी दिन सुरु गरेको थियो । उनीहरुले कोभिड १९ को संक्रमण फैलिइरहेको बेलाप्रतिकेजी एक हजार ४०० ले विक्री गरेको बताए ।
फार्मका सञ्चालक योङहाङले सुरुमा दैनिकपाँच केजीदेखि १० केजीमात्र टुसा उत्पादन हुने गरेको कुरिलाले हाल दैनिक ५० केजी उत्पादन दिन थालेको बताए । “कुरिलोको सब्जी या सुपमा इम्यूनिष्टी पावर बढी हुँदोरहेछ”, उनी भन्छन्, “विगतमा कोरोनाका संक्रमितहरुले मगाउनु हुन्थ्यो हामीले घर–घरमै पुर्याइदियौं ।”
हाल यसको बजार मूल्यप्रतिकेजी पाँच सय रहेको उनले बताए । उनले अन्य तरकारीमा जस्तो कुरिलोमा रासायनिक मलको प्रयोग नभई पिना, गोबर मल, कुखुराको सुली लगाइने हुँदा शतप्रतिशत अग्र्यानिक हुने दाबी गरे । कुरिलोको माग जिल्लामै बढिरहेको हुँदा बजारको समेत समस्या नरहेको उनको भनाइ छ ।
यसैगरी, विगत २५ वर्षदेखि दमकमा बबिन कृषि भण्डार सञ्चालन गर्दै आएका बसन्त न्यौपानेले दुई वर्षयता मात्र कुरिलोको विजन राम्रोसँग विक्री हुन थालेको बताए । उनले कोरोना कालमा मान्छेले कुरिलोको महत्व बुझेपछि मात्र जिल्लामा यसको खेतीहुने गरेको बताए ।
“विगतमा दुई चार प्याकेट विजन राख्थे कसैले खोज्दैनथे”, उनले भने, “कोभिड १९ का संक्रमितहरुले जबयसको टुसा खोज्न थाले अनि मात्र किसान विजन खोज्दै आउन थाले ।” कुरिलोको विजनको मूल्यप्रति केजी दुई लाख ५० हजार पर्ने उनले बताए । उनले गतवर्ष काठमाडौंबाट दुई केजी र यसवर्ष तीन केजी कुरिलोको विजन ल्याएर बेचेको बताए । उनका अनुसार झापामा यसको व्यावसायिक खेती गर्ने किसान १५ देखि २० जना छन् ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले कुरिलोलाई एक औषधिजन्य वनस्पति रुपमा लिइने बताए । उनले यो दोमट, बलौटे र पारिलो घाम लाग्ने माटोमा हुने हुँदा झापा कुरिलो खेतीका लागि उर्वरभूमि रहेको बताए । जिल्लामा विगतमा फाटफुट्ट मात्र यसको खेती हुने गरे पनि हाल व्यावसायिक रुपमा खेती सुरु हुन थालेको उनले जानकारी दिए । “कुरिलो बुहर्षीय बाली हो”, उनले भने, “एकपटक लगाएपछि राम्रो रेखदेख भएमा यसबाट पाँच वर्षदेखि सात वर्षसम्म उत्पादन लिन सकिन्छ ।”
कुरिलो पौष्टिक तथा पच्न सजिलो तरकारी भएकोले बिरामी तथा कमजोर व्यक्तिहरूलाई खानदिने धेरै पुरानो प्रचलन हो । विगतमा जंगलमा उम्रिएको कुरिलो खोजेर खाने चलन भए पनि यसको व्यावसायिक खेती भने भर्खरै हुन थालेको मेचीनगर १३ का ७५ वर्षीय हर्क इधिङ्गोको भनाइ छ ।