झापा । बिर्तामोड–६ मा रहेको सरस्वती माविलाई एक करोडभन्दा बढीको लागतमा निर्माण गरिएको पक्की भवन बुधबार हस्तान्तरण गरिएको छ ।

एक जापानी दम्पत्तिले निर्माण गरिदिएको ८ वटा कक्षाकोठा रहेको दुई तले भवन एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । जापानी नागरिक तोशिरो हिरोता र हात्च्युए हिरोताको सहयोगमा उक्त भवन निर्माण भएको हो ।

विद्यालयमा परिसरमा आयोजित कार्यक्रममा हिरोता दम्पत्तिलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजुजंग कन्दङ्वालगायत सयौँ विद्यार्थीहरुले फूलको गुच्छाले स्वागत गरे ।

जापानमा रहेको जापान टीम अफ योङ हुमन पावर (जेएचपी) ले सहयोगी खोजेर नेपालमा विद्यालय भवन, शौचालय र खानेपानीको क्षेत्रमा लगानी गर्दै आएको छ । जसमा नेपालका लागि जेएचपीसँग भद्रपुरको घनश्याम स्मृति प्रतिष्ठानले सहकार्य गर्दै आएको स्रोतव्यक्ति डा. सञ्जीव खनालले बताए ।

उनका अनुसार यो संस्थाले झापामा एक दर्जनभन्दा बढी विद्यालयमा कक्षाकोठा निर्माण गरिदिएको छ भने केही निर्माणको चरणमा रहेको छ । त्यस्तै, शौचालय र खानेपानीको काम पनि गरिरहेको छ ।

जापानी दम्पत्तिले तीन वर्षअघि करिब ४८ लाख रुपैयाँको लागतमा ‘हिरोता ड्रिम भवन’ निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गरेको थियो । त्यसैमाथि थप अर्को तला निर्माण गरेर बुधबार उद्घाटनसहित हस्तान्तरण गरेको हो ।

भूकम्पप्रतिरोधी उक्त भवनमा आगामी शैक्षिकसत्रमा कक्षा ११ को स्वीकृति लिएर अध्यापन गराउने विद्यालय व्यवस्थापन समितिको योजना रहेको अध्यक्ष कन्दङ्वाले जानकारी दिए ।

उनले भवन निर्माणका क्रममा ६ लाखभन्दा बढी मूल्यको झ्याल र ढोका व्यवस्थापन समितिले निर्माण गरेको बताए । दाताले काठको मूल्य नव्यहोर्ने भएपछि समितिले नै खरिद गरेर निर्माण गरेको उनको भनाइ छ ।

भवनको उद्घाटनपछि हिरोता दम्पत्तिले कक्षा कोठाको अवलोकनसमेत गरेका थिए । उनीहरुले डेस्क र बेञ्चमा बसेर तस्वीर पनि खिचाए ।
व्यवस्थापन समितिका अध्यक्ष कन्दङ्वाको अध्यक्षतामा भएको कार्यक्रममा नगर शिक्षा अधिकृत युवराज पाण्डे, प्रतिष्ठानका अध्यक्ष नवकुमारी खनाल, विद्यालयका सल्लाहकार संयोजक रामकुमार कन्दङ्वा, दाता तोशिरो हिरोता, जेएचपीका तर्फबाट फुकदालगायतले आफ्नो भनाइ राखेका थिए । दाताको मन्तव्यलाई प्रतिभा रिजाल खनालले अनुवाद गरेकी थिइन् ।

डा. राजीव खनालले बुट्टाबारी क्षेत्रका विपन्न परिवारका विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा कक्षाकोठाको अभाव देखेर भवन निर्माणका लागि पहल गरेका हुन् । भवन निर्माणमा सन्तोष पोखरेल, तारा खनाल र भरत पोखरेलले महत्वपूर्ण योगदान दिएको अध्यक्ष कन्दङ्वाले बताए । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष डा. दोर्णकुमार पौड्यालको पनि उपस्थिति थियो ।